नरेश गुप्ता
बरियारपुर,भाडामा यात्रु ओसारपसार गर्ने एउटा भारतीय एम्बुलेन्स र चालकलाई ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी मोहमद हंसनराज रंगरेजले बि आर ०५ पि ८२१५ नम्बरको भारतीय एम्बुलेन्समा यात्रु राखेर रौतहटको चन्द्रपुर जाने क्रममा ट्राफिक पोष्ट कलैयाले नियन्त्रणमा लिइएको हो । एम्बुलेन्स चालक रंगरेजले यात्रुसंग ५ हजार रुपैया भाडा लिएर चन्द्रपुर नगरपालिका जादै गरेको अवस्थामा ट्राफिक प्रहरीले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको हो । चेकजाँजको क्रममा शंका लागेर रोक्न खोज्दा उल्टै एम्बुलेन्स भगाएपछि पिछा गर्दै गएको प्रहरीले मानमत–मटिअर्वा सडक खण्डको बडहर्वाबाट नियन्त्रणमा लिएको ट्राफिक पोष्ट कलैयाका प्रहरी नायव निरीक्षक नवलकिशोर साहले जानकारी दिनुभयो । नियन्त्रण लिइएको एम्बुलेन्स र चालकलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय बाराको जिम्मा लगाएको र चालकलाई भने जिल्ला प्रशासन कार्यालय बाराले धरौटीमा रिहा गरेको नायव निरीक्षक साहले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण जारी लकडाउनमा सार्वजनिक यातायात बन्द रहेको मौकाको फाईदा उठाउदै रंगरेज बढी भाडा असुलेर यात्रु ओसारेको पाइएको र उनीमाथि अभद्र व्यवहारविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । एम्बुलेन्स भने जिल्ला प्रहरी कार्यलय बाराको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।