अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै अत्याधुनिक हतियार र ठूलो परिमाणमा गोलीगट्टासहित एक भेनेजुएली नागरिक पक्राउ परेका छन्।

अमेरिकी सुरक्षा निकायको टोलीले २६ वर्षीय रोनी योरड्रिक्स गुआनिपा क्रिनोसलाई बिहीबार राति नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी ह्वाइट हाउस नजिकै पार्क गरिएको चोरीको नीलो फोर्ड एफ–१५० गाडीभित्र सुतिरहेको अवस्थामा फेला परेका थिए। सोधपुछका क्रममा उनले गुगल ट्रान्सलेटको सहयोगमा आफूसँग हतियार रहेको जानकारी दिएका थिए।

गाडीको खानतलासी गर्दा प्रहरीले एआर–१५ शैलीको राइफल, म्याक–१० ह्यान्डगन र ग्लोक ४३एक्स पेस्तोलसहित ठूलो परिमाणमा गोलीगट्टा बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा ती युवकले सन् २०२४ मा अवैध रूपमा अमेरिका प्रवेश गरेको खुलेको छ। प्रहरीसमक्ष उनले आफ्नो दिमागमा विभिन्न आवाज सुनिने र ती आवाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न उक्साउने गरेको बयान दिएको बताइएको छ।

उनले बरामद भएका केही हतियार आफैँले किनेको र केही अरूबाट खोसेको दाबी गरेका छन्। उनी चोरीको उक्त गाडीमै बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनालाई गम्भीर रूपमा लिँदै अमेरिकी सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएका छन्।

Leave a Reply