वीरगञ्ज । बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जस्थित शक्तिपीठ श्री गहवामाई मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनलगायत विभिन्न जिल्लासहित भारतको बिहार र उत्तर प्रदेशबाट आएका श्रद्धालुहरूले देवीको दर्शन गर्दै पूजा–अर्चना गरेका छन् ।
मन्दिर परिसरलाई यस वर्ष विशेष सजावट गरिएको छ । भक्तजनको सहजताका लागि व्यवस्थापन समितिले भीड नियन्त्रण, सुरक्षा निगरानीका लागि सिसिटिभी र ड्रोनसमेत प्रयोगमा ल्याएको छ । यसैगरी मोबाइल फोन प्रयोग, टिकटक बनाउने, फोटो र भिडियो खिच्नेलाई पूर्ण निषेध गरिएको छ ।
अष्टमीको दिन बलि दिने परम्परा रहने गहवामाई मन्दिरमा दशैँभर ठूलो मेला लाग्ने गर्दछ । विशेषगरी फूलपातीदेखि नवमीसम्म मन्दिर परिसर उत्सवमय हुने परम्परा छ ।
यसपटकको दशैँलाई थप भव्य बनाउन विश्व हिन्दु परिषद्ले नेपालमै पहिलोपटक ‘चुनरी यात्रा’ आयोजना गरेको छ । सोमबार अपराह्न ३ बजे गहवामाई मन्दिरबाट सुरु हुने यात्रामा १ सय ५१ मिटर लामो चुनरीलाई १५ सयभन्दा बढी भक्तहरूले बोकेर नगर परिक्रमा गर्नेछन् ।

















