निजगढ,जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहले डिभिजन वन कार्यालय बाराले वन संरक्षणको क्षेत्रमा चालु आर्थिक वर्षमा संचालन गरेका कार्यक्रमहरु सराहनीय देखिएको बताउनुभएको छ ।डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा जिल्लामा संचालन गरेको योजनाहरुको अनुगमन गर्नेक्रममा बुधवार उहाँले कार्यालयले वन संरक्षणको क्षेत्रमा प्रभावकारी काम गरेको पाइएको बताउनुभएको हो ।
‘कार्यालयले वन संरक्षणको लागि धेरै राम्रा काम गरेको रहेछन, उहाँले भन्नुभयो, त्यसमध्ये पनि निजगढ २ को सिंगौलमा सामुदायिक वनको अतिक्रमण हटाएर शुरु गरिएको वृक्षारोपण कार्यक्रम सबैभन्दा प्रभावकारी देखियो ।’ उहाँले वन कार्यालयले गरेका कामहरुको बारेमा आमनागरिकहरुलाई जानकारी गराउने गरी समय समयमा यस्ता कार्यक्रमहरु चलाउनुपर्ने पनि बताउनुभयो । जिसस प्रमुख साहले वन तथा वातावरण क्षेत्रको संरक्षणको लागि आगामी दिनमा पनि यसरी नै कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
जिल्लाका सञ्चारकर्मीहरु समेत सम्मिलित अनुगमन टोलीले गढीमाई र हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको वन क्षेत्रमा भइरहको पुर्नउत्पादन संरक्षण प्लट र गढीमाई साझेदारी वनको दुधौरा खोलामा वन कार्यालयमार्फत गरिएको तटबन्ध र घाटगद्दी क्षेत्रको पनि निरीक्षण गरेको थियो ।टोलीले डिभिजन वन कार्यालयको सहयोगमा निजगढ ९ को आदर्श सदावहार सामुदायिक वन समूहको वन क्षेत्रमा संचालन गरिएको जडिबुटी पकेट क्षेत्र, निजगढ २ सिंगौलको सरस्वति सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको पानी रिचर्ज पोखरी र निजगढ ७ स्थित जनज्योति सामुदायिक वनको नर्सरी पनि निरीक्षण÷अनुगमन गरेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामजी बजगाईले पनि वन कार्यालयले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी भएको र यसलाई आगामी दिनमा थप प्रभावकारी तुल्याउने गरी योजना बनाएर काम गर्न जरुरी रहेकोमा जोड दिनुभयो । ‘उपलब्धीमूलक काम भएका छन, उहाँले भन्नुभयो, आगामी दिनमा अझै उपलब्धी प्राप्त हुने गरी काम गर्न जरुरी छ ।’
त्यसैगरी गढीमाई साझेदारी वन समितिका पूर्वअध्यक्ष गणेशजी प्रसाद साहले पनि सिंगौल क्षेत्रको अतिक्रमण हटाएर गरिएको वृक्षारोपण कार्य उल्लेखनीय भएको बताउनुभयो । ‘स्थानीयले वर्षौदेखि कब्जामा लिएर भोगचलन गर्दैआएको वन क्षेत्र फिर्ता ल्याएर विरुवा रोप्नु चानचुने कुरा होइन ।’ भन्नुभयो ।डिभिजन वन कार्यालय बाराले स्थानीय विद्यालय, सङ्घसंस्था र विभिन्न व्यक्तिको नाउँमा वर्षौदेखि अतिक्रमणमा परेको निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रको जमिन फिर्ता ल्याएर हालैमात्र वृक्षारोपण गरेको हो ।
अतिक्रमण खाली गराएको २०.७८ हेक्टरमध्ये हाल १३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण भइरहेको डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले जानकारी दिनुभएको हो ।
सशस्त्र व्दन्दको समयमा माओवादी कार्यकर्ताहरुले सामुदायिक वन फडानी गरी आवादी गर्ने तयारी गरेपछि स्थानीयले रोकेर संघसंस्थाको नाममा आम्दानी बाँध्ने गरी सो क्षेत्रमा केरा खेती गर्दैआएका थिए । तर डेढ वर्षअघि डिभिजन वन कार्यालय बाराले वन फडानी र आवादी गरेको आरोपमा वन देवी सामुदायिक वन समूहका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय ३५ जना विरुद्ध जिल्ला अदालत बारामा दर्ता गरेको मुद्दामा वन कार्यालयको पक्षमा फैसला भएपछि सो वन क्षेत्रको जमिनमा खेती गर्ने कार्य रोकिएको थियो ।वन कार्यालयले स्थानीय विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पादाधिकारी, पूर्ववडा अध्यक्ष र सामाजिक कार्यकर्तासहित ५२ जनामाथि मुद्दा दर्ता गरेको भएपनि जिल्ला सरकारी वकीलको कार्यालयले भने ३५ जनामाथि मात्रै मुद्दा चलाएको थियो ।वनको नाममा जमिन फिर्ता आएपछि कार्यालयले केराबाली नष्ट पारेर हाल तारले घेरबारा गरेर वृक्षारोपण शुरु भएको निजगढ सव डिभिजन वन कार्यालयका निरज पोखरेलले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा टिक, सपेता, मसलालगायत विभिन्न प्रजातिका २० हजार ८ सय विरुवा रोपिने योजना रहेको पनि बताउनुभयो । उहाँले वृक्षारोपण क्षेत्रको सुरक्षाको लागि २ जना हेरालु खटाइने र बाँकी अतिक्रमित क्षेत्र पनि खाली गराएर वृक्षारोपण गरिने बताउनुभयो ।

















