कलैया,बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा नम्बर ३२ बदननगर बस्ने २६ वर्षीय गयासुदीन मियाँ रहेका छन् ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित सडकखण्डमा नियमित सवारी साधन चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतबाट अवैध तरिकाले ल्याएको लागूऔषधसहित पक्राउ गरिएको हो । शनिबार दिउँसो सवारी साधन चेकजाँच गर्ने क्रममा शारुखले चलाइरहेको विआर २२ डी ४१४४ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर चेक गर्दा पछाडि सिटमा बाँधेर राखिएको हरियो रङ्गको प्लाष्टिकको बोराबाट १०० एमएलको वनरेक्स २ सय ३० बोतल फेला परेको थियो ।

त्यसैगरी शनिबारनै ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले गयासुदिनले चलाइरहेको बा १५ प १७५२ नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा उनले कालो रङ्गको ब्यागभित्र लुकाइछिपाइ राखेको १०० एमएलको वनरेक्स ५ बोतल र नाईट्राभेट–१० लेखिएको ट्याबलेट ७२ पिस ट्याबलेट फेला परेको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here