सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले पाउनुभएको छ ।प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको मंसिर ११ गते गृह मन्त्रालयमा सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिवजी प्रसादलाई जिम्मेवारी तोकेको हो ।उपमहानगरमा कार्यरत कर्मचारी मध्ये जेष्ठ कर्मचारी समेत रहेका उपसचिव नवौं तहमा कार्यरत शिवजी प्रसादलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी तोकिएको हो । यसअघि उहाँ उपमहानगरपालिकाको शिक्षा, खेलकुद तथा युवा महाशाखा प्रमुख हुनुहुन्थ्यो ।यससंगै पछिल्लो १० महिनामा उपमहानगरपालिकामा तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । करिब अढाई वर्ष प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका चेतकुमार पोखरेलको मन्त्रालयमा सरुवा भएपछि २०७९ फाल्गुनमा हरिलाल पुरी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनुभएको थियो ।स्थानीय तहमा लामो समय काम गरेको अनुभव बटुलेका पुरी धेरै समय टिक्न सक्नुभएन । रौतहटको चन्द्रपुर नगरपालिकाबाट आउनुभएका पुरी ६ महिनामै सरुवा भएर पुनः चन्द्रपुर नै फर्किनु भएको हो । जनप्रतिनिधिसंगको सम्बन्ध बिग्रिएपछि पुरी आफैले सरुवा मागेर जीतपुरसिमरा छाडनु भएको हो । पुरीको सरुवापछि उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा केही समयपछि वेदराज फुयल हाजिर हुनुभएको थियो ।प्रमुख प्रशासकीय अधिकृत फुयल र जनप्रतिनिधिबीच पनि सम्बन्ध राम्रो हुनसकेन । फुयलले चाडपर्वको समयमा विभिन्न योजनाको भुक्तानी नै नदिएर हिडेपछि जनप्रतिनिधिको चर्को आलोचना भएको थियो ।
उपसचिव स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गराउन मेयर राजन पौडेल र उपमेयर भोला अधिकारीले निरन्तर प्रयास गरेपनि कर्मचारी फेला नपरेपछि उपमहानगरपालिकाको अनुरोधमा मन्त्रालयले शिवजी प्रसादलाई जिम्मेवारी दिएको हो ।१० महिनाको अवधिमा तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृत फेरिदा उपमहानगरपालिकाको कामकाज प्रभावित बन्दै आएको छ । चालु आर्थिक वर्षको पाँच महिना बित्न लागिसक्दा पनि खोला ठेक्का प्रक्रिया, योजना सम्झौतालगायतका काम रोकिएको छ ।



















