निजगढ,किर्ते गरेर व्यक्तिको नाममा दर्ता गरिएको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बकैयाटोलको अर्बौै रुपैया मूल्य पर्ने जग्गा सार्वजनिक कामय भएको छ ।
पूर्वपश्चिम लोकमार्गसंग जोडिएको बकैया पुल छेउको कित्ता नं. १३० को २ बिघा ७ कठ्ठा १७ धुर जग्गा मन्त्री परिषदको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो । जमिन सार्वजनिक गर्ने निर्णय ४ महिनाअघि नै भएको भएपनि हालै मात्र निर्णय सार्वजनिक भएको हो ।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जा“चबुझ आयोग २०७६ ले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन कार्यावन्यन गर्ने क्रममा गत भदौं १९ गतेको मन्त्री परिषद बैठकले निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले २०७९ असोज ६ गते मालपोत कार्यालय सिमरालाई जमिन सार्वजनिक गर्न निर्देशनात्मक पत्राचार गरेको छ । आयोगका तत्कालिन अध्यक्ष मोहनरमण भट्राईको टोलीले जमिन सार्वजनिक गर्ने बारेमा २ वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
सरकारको निर्णयपछि स्थानीय खुसी भएका छन । निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ । उहाँले स्थानीयले लामो समयदेखि गर्दै आएको आन्दोलनको परिणामस्वरुप जमिन सार्वजनिक भएको पनि बताउनुभयो । सार्वजनिक जग्गा व्यक्तिको नाममा दुषित दर्ता भएपछि स्थानीयले दर्ता बदरको माग गर्दै लगातार आन्दोलनसमेत गर्दै आएका थिए ।
स्थानीयले वर्षौ अघिदेखि सन्धिसर्पणको रुपमा प्रयोग गर्दै आएको सो जमिन मालपोत कार्यालय बाराको फिल्डबुकमा समेत पर्ति गौचरण उल्लेख छ । तर भू–माफियाहरुको मिलोमतोमा केही व्यक्तिहरुले आफ्नो नाममा दर्ता गराएका हुन । २०३७ सालमा हेटौडा चिसापानी सट्टा भर्नाको क्रममा हेटौडाका शेरबहादुर श्रेष्ठ, भवानीदेवी लम्साल, ईन्द्रबहादुर बनेपालीले जग्गा धनी प्रमाण पूर्जा लिएको भएपनि स्थानीयले भने सो जमिन सोही समयदेखि सार्वजनिक रुपमा प्रयोग गर्दै आएका थिए । उक्त जमिन हाल प्लटिङ्ग गरेर ठूला व्यवसायी र भूमाफियाहरुको नाममा दर्ता गरिएको बताइएको छ ।