काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै कार्की प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त भएका छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाइएको छ ।
पछिल्लो समय विभिन्न विवादास्पद घटनाक्रममा प्रहरी नेतृत्वको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सरकारले नेतृत्व परिवर्तनको निर्णय गरेको हो । यद्यपि, कार्कीलाई जिम्मेवारीबाट हटाउनुको ठोस कारण सरकारले सार्वजनिक गरेको छैन ।
मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले कार्कीमाथि कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धमा आवश्यक सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको हो ।
यसअघि गत साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी पक्राउ गरिएको घटनाले पनि विवाद उत्पन्न गरेको थियो । उक्त घटनामा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको दबाबमा प्रहरी परिचालन भएको र गैरकानुनी गिरफ्तारीका लागि निर्देशन दिइएको दाबीसहित प्रहरी नेतृत्वको भूमिकामाथि प्रश्न उठाइएको थियो ।
कार्कीलाई तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गत वर्ष कात्तिकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए । २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको प्रहरी कमाण्ड सम्हालेका थिए ।
सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व एआईजी मनोज केसीको हातमा पुगेको छ ।

















