काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवा प्रवेश तथा पदोन्नतिका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी परेपछि आयोगले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

आयोगको अनुसन्धानअनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्राप्त गरेको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

उक्त प्रमाणपत्रकै आधारमा उनी सहायक निरीक्षक पदबाट प्रमुख अनुसन्धान अधिकृतसम्म बढुवा भएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सम्बन्धित शैक्षिक प्रमाणपत्र जारी गर्ने निकायबाट प्राप्त जानकारीका आधारमा भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो ।

यसै आधारमा आयोगले उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ ।

Leave a Reply