निजगढ – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा निजगढ नगरपालिकाले ‘संविधानको महत्व र सान्दर्भिकता’ विषयमा विद्यार्थीहरूबीच आज मन्तव्य कार्यक्रम आयोजना गरेको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा निजगढ नगरकार्यपालिकाको कार्यालय परिसरमा भएको सो कार्यक्रममा निजगढका विभिन्न सामुदायिक विद्यालयका छात्र÷छात्राहरुले वर्तमान संविधानको महत्व र विशेषताको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निजगढ ८ स्थित गौरीशंकर माविका आर्यान घलान, सम्पदा खरेल, निजगढ ५ को सार्वजनिक माविका युना गौतम, विश्व खत्री, निजगढ ८ स्थित बकैया ठाकुर माविका आयुश कुशवाहा गौरीशंकर मावि सडकटोलका गौतम साह, निजगढ ११ स्थित नेरामावि रतनपुरकी कविता थोकर र नेरामावि लालका रञ्जिता बम्जनलगायतले नेपालको हालको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको भएपनि यसको प्रभावकारी कार्यान्वयनमा भने समस्या देखिदै आएको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर सचिव सुरज तिमल्सिना, नेकपा एमाले नगर सचिव थानेश्वर सापकोटा, नेपाली कम्युनिष्ट पार्टीका नेता संतोष दङ्गललगायतले पनि संविधानको विशेषताको बारेमा प्रकाश पारेका थिए ।
नगर प्रमुख पुरीले नगरपालिका कार्यालयमा झण्डोत्तोलन गरेपछि सुरु भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रममा पूर्वजनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, विद्यालयका शिक्षक÷ विद्यार्थी, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिलगायत निजगढ नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मन्तव्य कार्यक्रममा सहभागी छात्रछात्राहरुलाई नगर प्रमुख सुरथ पुरीले उपहार स्वरुप १÷१ थान डायरी र कलम पनि वितरण गर्नुभएको थियो । कार्यक्रमको संचालन नगर कार्यपालिकाको कार्यालयका योजना तथा अनुगमन शाखा प्रमुख जीवन गौतमले गर्नुभएको थियो ।

















