वीरगञ्ज,शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै किसिमको सम्झौता नगर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले दाबी गर्नुभएको छ ।पर्साका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसपी ढुङ्गेलले सेवा लिने क्रममा सर्वसाधारणले कुनै सास्ती खेप्न नपर्ने आश्वासनसमेत दिनुभएको छ । संविधानले व्यवस्था गरेको कार्यक्षेत्रभित्र रहेर प्रहरीले काम गर्ने उहाँको भनाई छ ।

कानुनी दायराभित्र रहेर शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतको क्षेत्रमा सक्रियता पूर्वक काम गर्न प्रहरीले कुनै कन्जुस्याई नगरेको एसपी ढुङ्गेलले सो अवसरमा बताउनुभयो । कानुनविपरित गएर कुनै पनि प्रहरी कर्मचारीले काम गरेमा कारबाही गर्ने चेतावनी दिँदै उहाँले प्रहरीको काममा सघाउन पनि पत्रकारहरुसंग अनुरोध पनि गर्नुभएको छ ।
‘कुनै पनि बहानामा निदोर्ष मान्छे फस्नुहुँदैन, उहाँले भन्नुभयो, साथै कुनै कारणले दोषि पनि उम्किनुहुँदैन भन्नेमा कुराप्रति प्रहरीले सचेतताका साथ काम गर्नेछ ।’ ‘राजनीतिक पहुँच र अन्य कुनै दबाब तथा प्रभावको भरमा जोगिन्छु भन्ने कसैले पनि नसोचे हुन्छ । प्रहरीले दवाव र प्रभावबाट मुक्त भएर काम गर्नेछ ।’
आफ्नो कार्यकाललाई स्मरणीय बनाउने बताउँदै उहाँले पर्साबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।



















