केही दिनदेखि बारा र पर्सामा एक बैवाहिक कार्यक्रममा भएको घटनाले ठूलै बहस सृजना गरेको छ । प्रहरीले दुलाहा बनेका व्यक्ति सहित उनका आफन्तलाई पक्राउ गरी कानुनी कारबाही समेत अगाडि बढाएको छ । तर यो घटनापछि सार्वजनिक भएको बेहुलाका आफन्तहरुको भनाईले घटनाको अर्को पक्ष पनि उजागर हुदै गएको छ ।

विवाह भनेको महिला र पुरुषबीच श्रीमान÷श्रीमतीको सम्बन्ध कायम गर्ने एउटा सामाजिक र धार्मिक विधि हो, यो सबै मानिसको लागि अपरिहार्य जस्तै छ । विभिन्न समुदायमा आआफ्नै परम्पराअनुसार धुमधाम र हर्षोल्लासका साथ वैवाहिक कार्य सम्पन्न गर्ने गरिन्छ ।तर हाम्रो समाजमा कहिले काही यस्तो पवित्र कार्यमा पनि अपराधिक क्रियाकलप पनि हुने गरेको देखिन्छ । बेहुली लिन गएका बारा कलैयाका एक युवक र उनको परिवारमाथि अहिले त्यस्तै आरोप लगेको छ । उनीमाथि दाइजो बापत सुनको सिक्री नपाएको निहुँमा बेहे भाँडेको आरोप लागेको हो ।

तराई मधेसमा व्यप्त रहेको दाइजो प्रथाबाट आक्रान्त सर्वसाधारणले शुरुमा केही पक्षले दाबी गरे अनुसार दाइजोको कारण नै विवाह रद्द भएको हुनसक्ने आँकलन गरेका थिए । तराई मधेसमा यस्ता धेरै घटना भएका छन, जसले गर्दा आम मानिसको मनोविज्ञान नै सोही अनुसार निर्माण भएको छ ।तर केटा पक्षका आफन्तको भनाई सार्वजनिक हुन थालेपछि घटनाको अर्को पाटो खुल्न थालेको छ । केटी पक्षले दाबी गरे जस्तो घटनामा घटनुमा दाइजो कारक नभएको केटा पक्षको भनाई छ । केटी पक्षले दाबी गरे जस्तो घटनामा दाइजो कारक नभएको केटा पक्षको भनाई छ ।

यो घटनाको सत्यता के हो त्यो केही समयपछि बाहिर आउने नै छ । केटा पक्षले दाइजोलाई बहाना बनाएर गरेको होस वा केटी पक्षले यसैलाई ढाल बनाएर विवाह रद्द गर्ने षडयन्त्र नै किन नगरेका हुन यसको वास्तविक छनबिन हुन जरुरी छ ।
चाहे सुनको सिक्री नपाएको झोंकमा विवाह रद्द भएको होस वा अर्को कुनै अन्तरंग कारण नै किन नहोस जुनसुकै अवस्थामा पनि यस्तो कार्य सामाजिक र कानुनी अपराध हो । यसमा त सहानुुभूति वा सद्भाव व्यक्त गर्न आवश्यक नै छैन । अन्य कुनै कारण भए पनि यसरी विवाह मण्डपबाट नै विवाह रद्द गरिदा दुबै पक्षलाई सामाजिक र सांस्कृतिक रुपमा क्षति गर्ने नै छ । यदि चित्त नपरेको भए मण्डपमा जानुअघि नै सम्बन्ध रद्द गर्ने अधिकार दुबै पक्षलाई थियो र पनि यसरी मण्डपबाट नै विवाह रद्द गर्ने कार्य घोर अशोभनीय र लज्जास्पद कार्य भएको छ । यसमा दोषि जुन पक्ष भएपनि कडा कारबाही हुनुपर्छ ।
प्रहरीले समेत अनुसन्धान थालेकोले यो घटनाको सत्यतथ्य ढिलो चाढो सार्वजनिक हुने नै छ । तर सामाजिक कलंकको रुपमा रहेका यस्ता घटना फेरि नहोस् भनेर समाजका सबै व्यक्ति सचेत हुन आवश्यक छ ।

Leave a Reply