आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकामा गत चैत्र ५ गतेदेखि कार्यपालिका सदस्यहरुले गरेको तालाबन्दी दुबै पक्षबीचको सहमतीमा खुल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको रोहवरमा बसेको बैठकले सिम्रौनगढ नगरपालिकाका करार, अस्थायी एवंम ज्यालादारी कर्मचारीहरुको म्याद थप गर्ने वा नगर्ने सन्दर्भमा उत्पन्न विवाद र नगरपालिकाको कार्यालयको विभिन्न शाखामा गरिएको तालाबन्दी दुबै पक्षको सहमतिमा खोलिने सहमति भएको हो ।सहमतिअनुसार सिम्रौनगढ नगरपालिकामा स्थायी कर्मचारी पदपूर्ति नभएसम्मको लागि साबिक स्थानीय निकायबाट नियुक्ति भई हाल नगरपालिकामा कार्यरत कर्मचारी, सिमौनगढ नगरपालिकाबाट नियुक्ति भई हालसम्म अविछिन्न रुपमा कार्यरत कर्मचारी, प्राविधिक कर्मचारी एवंम नगरपालिकालाई प्राप्त हुने सशर्त अनुदान शीर्षकबाट सेवा सुविध प्राप्त गर्ने गरी प्रकृया पूरा गरि नियुक्त भएका कर्मचारीलाई निरन्तरता दिइने भएको छ ।सिम्रौनगढ नगरपालिकामा स्थायी कर्मचारी पदपुर्ती गर्न नगरपालिका कार्यालयमा स्वीकृति भएका सबै तहको दरबन्दीलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी अबिलम्ब प्रदेश लोकसेवा आयोग जनकपुरमा स्थायी पदपुर्तिको लागि लेखी पठाउने, सिम्रौनगढ नगरपालिकाको योजना शाखामा कार्यरत जितेन्द्र यादवलाई अन्यत्र काम लगाउने र ईन्जिनियरहरु मध्ये नगर प्रमुखले उपयुक्त ठानेको ईन्जिनियरलाई योजना प्रमुखको जिम्मेवारी दिने तथा नगरपालिका कार्यालयका विभिन्न शाखाहरुमा लगाइएको ताला तत्काल खोल्ने निर्णय गरिएको जनाइएको छ ।बैठकमा सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवार, जिल्ला प्रशासन कार्यालय बारा प्रमुख सापकोटा, प्रहरी उपरीक्षक होविन्द्र बोगटी, सशस्त्र प्रहरी बल १२ नम्बर गणका तोपबहादुर डाङी, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख अभिनयकुमार सिह, सिम्रौनगढ नगरपालिका का प्रमुख प्रशाशकीय अधिकृत दीनेशकुमार न्यौपाने सिम्रौनगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनदयाल मुखिया, २ का अरबिन्द मुखिया, ३ का अजिउलाह अन्सारी, ४ का अवधेशकुमार सहनी, ६ का नन्दकिशोरप्रसाद जयसवाल, ७ का विवेक मेहता, ९ का रामएकवाल प्रसाद यादव, १० का राजकुमार यादव र वडा नम्बर ११ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल, नगरपालिकाकी उपप्रमुखका सल्लाहकार शेख मोतिम, नितेश यादव लागायतको उपस्थिति रहेको थियो ।

















