विराटनगर,नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाउनुभएको छ ।मंगलवारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुआत गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री दाहालबाट भएको बताउनुभएको हो ।
नेता कोइरालाले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नु भयो । शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्न भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ । शहीदको संख्या थप्दै गर्दा शहीद नै अपमान हुने बुझेको छु ।’प्रधानमन्त्री दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिनुभएको थियो । त्यसैगरी, कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्नुअघि बढेको उल्लेख गर्नुभयो । उहाँले समुदायस्तरमा देखिएका कमिकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।



















