राजक कुमार बानिया
पोखरिया,२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गुल्म भिखमपुरको आयोजनामा बुधबार नेपाल–भारत सीमास्थित भिखमपुर र इनार्वा क्षेत्रमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४७औँ बटालियन, इनार्वा टिमबीच सम्पन्न प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गण मुख्यालय भिखमपुर विजयी भएको छ । सशस्त्र प्रहरीले भारतीय एसएसबी इनार्वा टिमलाई ३–२ को सेट अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा कुल पाँच सेट खेलाइएको थियो । पहिलो सेट सशस्त्र प्रहरी बल नेपालले जितेको थियो भने त्यसपछिका दुई सेटमा भारतीय एसएसबी इनार्वा टिमले जित हातपारेको थियो । अन्तिम दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरीले जित निकाल्दै समग्र खेल ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
विजेता टोलीलाई भारतीय एसएसबी इनार्वाका प्रमुख कमाण्डर अभिनाश पटेलले पुरस्कार वितरण गर्नुभयो भने उपविजेता टोलीलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म भिखमपुरका गणपति नायब उपरीक्षक (डीएसपी) दिनेश आचार्यले मेडल वितरण गर्नुभयो ।
२५औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाल–भारतबीचको आपसी सद्भाव, समन्वय र मित्रतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।
भारतीय एसएसबी इनार्वाको ४७औँ बटालियनको खेल मैदानमा सम्पन्न प्रतियोगितामा भारतीय एसएसबीका कमाण्डर अभिनाश पटेल, सशस्त्र प्रहरी बल गुल्मपति डीएसपी दिनेश आचार्य, प्रहरी निरीक्षक हरिचन्द्र खड्का, प्रकाश बोहरा, गणेश सी. राउत, जयबहादुर कार्की, टंकबहादुर राणा, भीमसिंह केसी लगायत सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


















