पुष्पराज खतिवडा
मनहर्वा,दैनिक अरबौंको व्यापार हुने र सयौं व्यपारी तथा हजारौं उपभोक्ताको चहलपहल रहने बाराको जीतपुर बजारमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले समस्या भोग्नु परेको छ । जीतपुरसिमरा उपमहानगरपालिको केन्द्र, नगर उद्योग वाणिज्य संघसँगै दर्जनौं विभिन्न व्यवासायिक एवं सामाजिक संघ संस्था र सरकारी कार्यालय रहेको जीतपुर बजारमा एउटा सार्वजनिक शौचालय नहुनु दुःखद भएको स्थानीय रामरुप महतोले बताउनुभयो ।
‘पहिला चोकमा सार्वजनिक शौचालय थियो, करिब ५ वर्षअघि सडक विस्तारका क्रममा भत्काईयो, महतोले भन्नुभयो, त्यपछि फेरि बनाउन कसैको ध्यान गएको छैन ।’ शौचालय नहुदा दैनिक हजारौं सर्वसाधारणले सास्ति भोग्नु परिरहेको व्यपारी समेत रहनुभएका महतोले सुनाउनुभयो ।
बजारको एक तीनतले घरको तल्लो तलामा मासिक ५ हजार भाडा तिर्ने गरि खाजाको होटल संचालन गर्दै आउनुभएका अर्का स्थानीय जोधन साहका अनुसार घरधनीहरुले भाडा लिने तर शौचालय सेवा दिने गरेका छैनन् । ‘नजिकमा शौचालयको सहज पहँुच छैन, उहाँले भन्नुभयो, चर्पी अभावमा व्यपार व्यवसाय गर्न समस्या भैरहेको छ ।’
अन्यत्रको तुलनामा जीतपुर बजारमा खाद्यान्न तथा तरकारी सस्तो पाईन्छ । सबैखाले मालसमान यहाँ सहजै पाईन्छ । तर सार्वजनिक शौचालन भने छैनन् । सार्वजनिक स्थानमा चर्पी नहुदा कुनै बेला निकै समस्या भोग्नु परेको पथलैयाबाट तरकारी खरिद गर्न आएकी सम्झना लामाले बताउनुभयो । पुरुषको तुलनामा महिलाहरुलाई सार्वजनिक शौचालय नहुँदा बढी समस्या हुने गरेको लामाको अनुभव छ । लामो समय दिसा पिसाब रोक्नुपर्ने भएकाले जीतपुर आउँदा खानापानी कम खाने गरेको उहाँले सुनाउनुभयो । व्यापारिक बजार जीतपुरमा सार्वजनिक शौचालय नहुँदा समस्या भैरहेकै छ । यद्यपि बिहिबार अपराहन्न मात्रै जैसवाल मिष्ठान्न भण्डार नजिकै शौचालय निर्माण गर्ने कार्यका लागि स्थानीय प्रकाश गिरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।
उपमहानगरपालिका वडा नं. ७ को १० लाख ५० रुपैंया वडा स्तरीय बजेटको लागतमा निर्माण गरिने सार्वजनिक शौचालय कस्तो बन्ने कहिले सम्पन्न हुने सोको यकिन नरहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले बताउनुभयो । उहाँका असार मसान्नसम्ममा सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।