काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालसमेत जोडिएको भ्रष्टाचार मुद्दामा ९४ जनालाई प्रतिवादी बनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रतिवादी बनाइएका ९४ जनामध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि विपक्षी बनाइएको हो।
इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका लागि मन्त्रिपरिषद्बाट निर्णय गराई बिक्री गरिएको प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको हो।
यस प्रकरणमा तत्कालीन मुख्यसचिव माधव घिमिरेको निधन भइसकेकाले उनको परिवारलाई विपक्षी बनाइएको छ। तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छविराज पन्तसहित अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ।















