निजगढ, २४ असोज– प्रदेश २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले निजगढ नगरपालिका वडा नम्बर– ४ स्थित कछडिया स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण र सामाग्री सहयोग गर्नुभएको छ ।
बारा क्षेत्र नं १ ‘क’ मा नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीले संसदीय विकास कोषको रकमबाट कछडिया स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन गर्न आवश्यक सामाग्री र उपकरण सहयोग गर्नुभएको हो । सांसद चौधरीले १० लाख रकमबाट रगत, दिसा, पिसाब, खकार, सुगर आदि रोगको परीक्षणमा आवश्यक पर्ने किट र मेसिनलगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनुभएको हो ।
सांसद विकास कोषबाट गत आर्थिक वर्ष विनियोजित रकमबाट सामाग्रीहरु खरिद गरी स्वास्थ्य चौकीमा राखिएको निजगढ नगरपालिका वडा नम्बर– ४ का वडाअध्यक्ष जयराम कुंवरले जानकारी दिनुभयो । निजगढको सबैभन्दा पुरानो स्वास्थ्य संस्थाको रुपमा रहेको कछडिया स्वास्थ्य चौकीमा आवश्यक सामाग्री र उपचार गर्ने स्वास्थ्यकर्मी अभावमा स्थानीयले प्रभावकारी सेवा प्राप्त गर्न सकेका थिएनन ।
उपकरण प्राप्त भएपछि स्वास्थ्य चौकीबाट स्थानीयले थप सेवा पाउने छन वडा अध्यक्ष कुंवरले बताउनुभयो । स्वास्थ्य चौकीमा वडा नम्बर ४ लगायत निजगढ नगरपालिका वडा नम्बर ५, ६ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष कुंवरको भनाइ छ । उहाँकाअनुसार स्वास्थ्य चौकीमा आवश्यक थप प्राविधिक स्वास्थ्यकर्मी भर्ना गर्ने प्रकृया शुरु भइसकेको र केही दिनभित्र ल्याब संचालनमा आउने छ ।