जनकपुरधाम,मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेको छ ।मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका हुन् ।विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए । आइतवारको प्रदेश सभामा १०४ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको सभामुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत प्राप्त भएकोले उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।प्रदेशसभामा तेस्रो पटक लिन लागिएको विश्वासको मतमा सत्ता गठबन्धनमा आबद्ध दलसहित तीन साना दल र स्वतन्त्र प्रदेश सांसदहरूले समर्थन जनाउँदै विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई साना दलहरू नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीसहित स्वतन्त्र प्रदेश सांसदहरूले समेत विश्वासको मत दिएका हुन् ।योसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जसपाका प्रदेश सांसदहरूले पनि विश्वासको मत दिएका हुन् ।
प्रदेश सरकारलाई कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्रका ९, लोसपा ९, एकीकृत समाजवादीका ७ र साना दलहरूबाट ३ जना सांसदले अहिलेको सरकारको पक्षमा मतदान गरेका हुन् । योसँगै स्वतन्त्र सांसदहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए ।विश्वासको मतमा २ दलले विपक्षमा मतदान गरेका छन् । मधेस प्रदेश सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै नेकपा एमाले र जनमत पार्टी मुख्यमन्त्री यादव नेतृत्वको सरकारको विपक्षमा मतदान गरेको हो ।प्रदेश सभामा एमालेको सांसद सङ्ख्या सभामुखबाहेक २३ र जनमत पार्टीको सिट सङ्ख्या १३ छ । तर मुख्यमन्त्री यादवको विपक्षमा भने ३५ जना प्रदेश सांसदले मतदान गरेका थिए ।

प्रदेश सरकारले लिएको तेस्रो पटकको विश्वासको मतदानमा सत्ता गठबन्धन दलसहित अन्य दल तथा प्रदेश सांसदहरू सरकार र मुख्यमन्त्री यादवको आलोचना गरेका थिए ।
सत्ता गठबन्धन दलहरूमध्ये लोसपाबाट बोल्दै उपेन्द्र महतोले सरकार हरेक काममा असफल हुँदै गइरहेको टिप्पणी गर्नुभएको थियो । उहाँका अनुसार सरकार भ्रष्टाचारदेखि लिएर लुटतन्त्रमा समेत लागेको छ । सरकारले एक वर्षमा खासै केही उपलब्धि नगरेको उहाँको आरोप छ ।लोसपा मात्रै होइन, कांग्रेसले पनि मुख्यमन्त्री यादव नेतृत्वको सरकारप्रति गुनासो गरेको छ । कांग्रेस संसदीय दलका नेता एवम् सरकारका मन्त्री कृष्ण यादवले सरकारको क्रियाकलापमा सुधार ल्याउनुपर्ने औँल्याउनुभएको थियो । उहाँले अहिलेको सरकार अरूको इसारामा चलिरहेको आरोप लगाउनुभएको थियो ।
विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले एक आर्थिक वर्ष बितिसक्दा पनि कुनै ठोस उपलब्धि नरहेको बताउनुभयो । मधेस सरकार एकदम कम गतिमा हिँडिरहेको सरकारको रूपमा देखिएको एमाले संसदीय दलका नेता यादवको आरोप छ ।

उहाँले अहिलेको सरकारको चाबी अन्त्यै रहेको आरोप लगाउनुभएको थियो । यसको साथै रेडबुकमा राखिएका योजनाहरू समेत किनबेच भइहरेको उहाँले टिप्पणी गर्नुभयो । प्रदेश सरकारले चिठी दिएर योजनाहरूको किनबेच गरिरहेकोले यसतर्फ सुध्रिन उहाँको सुझाव छ ।
सरकारले प्रगतिमा शून्य नतिजा ल्याएकाले यो सरकारलाई दिँदै आएको समर्थन यो पटकका लागि भने नदिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।सदनमा सत्ता पक्ष तथा विपक्षी दलबाट उठाइएका कुराहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफूले कुनै गलत काम नगरेको जनाउनुभयो । उहाँले सरकारले नराम्रो काम के गरेको छ भने त्यो जानकारी दिन माग गर्नुभयो । बजेटको सन्दर्भमा सातै प्रदेशमध्ये मधेस प्रदेशमा राम्रो खर्च भएको उहाँले प्रष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, ‘मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, न त कसैसँग एक रुपैयाँ पनि मागेको छु । जनताको सेवा गर्न सबै मन्त्रीलाई समेत भन्ने गरेको छु ।’ यसको बाबजुद पनि आगामी दिन सदनबाट आएका सबै सुझावलाई पालना गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई विश्वासको मत दिन सबै दलका सांसदसंग उहाँले आग्रह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here