जनकपुर,जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेस प्रदेश र बागमती प्रदेशबीचको पहिलो दिनको खेल सकिएको छ । जनकपुरको रामजानकी मल्टिपर्पोज रंगशालामा पहिलो दिनको खेल समाप्ति हुँदा बागमती मधेशभन्दा ८६ रनले पछाडि छ ।
बागमतीले १३ ओभरमा दुई विकेट गुमाएर ३४ रन जोडेको छ । बागमतीका शुभ कंसकार २२ र ईशान पाण्डे ९ रन बनाएर अविजित छन् । ओपनर आशुतोष घिरइया शून्य र रित गौतम तीन रनमा आउट भएपछि शुभ र ईशानले पाली सम्हालेका हुन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले ३५.३ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन जोडेको थियो । मधेशका मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । यसैगरी सूर्य तामाङले तीन, प्रतिश जिसि र नन्दन यादवले एक÷एक विकेट लिए ।
नेपाल क्रिकेट संघको आयोजनामा दुई दिवसीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितमा मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबको सहभागिता रहेको छ । वीरगञ्ज र जनकपुरमा भईरहेको प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल वीरगञ्जमा हुनेछ ।

Leave a Reply