लुम्बिनी । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि नेपाल र भारतका सशस्त्र सुरक्षा निकायबीच सूचना आदानप्रदान र सहकार्य गर्ने सहमति भएको छ ।
लुम्बिनीमा सोमबार सम्पन्न सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को दशौँ डीआईजीस्तरीय समन्वयात्मक बैठकले सीमा अपराध नियन्त्रणका लागि संयुक्त रूपमा काम गर्ने निर्णय गरेको हो ।
बैठकमा सीमा स्तम्भको समयमै मर्मत तथा सम्भार, मानव तस्करी, नक्कली मुद्रा ओसारपसार तथा कारोबार र लागुऔषध नियन्त्रणका विषयमा सहकार्य गर्ने समझदारी भएको छ । त्यस्तै, गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकको निगरानी तथा नियन्त्रणमा पनि दुवै पक्षले समन्वय गर्ने भएका छन् ।
सशस्त्र प्रहरी बल, विन्ध्यवासिनी बाहिनी मुख्यालय कपिलवस्तुको आयोजनामा भएको बैठकको नेतृत्व नेपालका तर्फबाट बाहिनीपति डीआईजी दीपक अधिकारीले गरेका थिए । भारतीय पक्षको नेतृत्व एसएसबी सेक्टर हेडक्वार्टर लखीमपुर खिरीका उपमहानिरीक्षक बी। विक्रमनले गरेका थिए ।
बैठकमा लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाका सशस्त्र प्रहरी गणपतिहरू तथा एसएसबी सेक्टर हेडक्वार्टर गोरखपुरका उपमहानिरीक्षक दीपक बरनवाल सहभागी थिए । गोरखपुर र लखीमपुर खिरी सेक्टर हेडक्वार्टरअन्तर्गतका पाँच–पाँचवटा बटालियनका बटालियन कमान्डरसमेत बैठकमा उपस्थित थिए ।
दशगजा क्षेत्रमा संयुक्त गस्ती गर्ने र सीमा क्षेत्रमा खेलकुद तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ । बैठकले यसअघि २०८३ वैशाख २२ गते भारतको एकीकृत जाँच चौकी रुपैडिहामा सम्पन्न नवौँ समन्वयात्मक बैठकका निर्णय तथा एजेन्डाको समीक्षा गरेको थियो ।
साझा विषयहरूको प्रभावकारी कार्यान्वयन र आगामी रणनीतिबारे छलफल गर्दै दुवै पक्षले बैठकमा उठेका विषय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका डीआईजी दीपक अधिकारीले दुवै पक्षबीच भएको प्रतिबद्धताले सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा प्रभावकारी र परिणाममुखी काम गर्न सहयोग पुग्ने बताए ।
उनले भोटेकोशी बाढीपछि भारत सरकारले गरेको सहयोग तथा नदीले बगाएर लगेका शवको खोजी र फेला परेका शव हस्तान्तरणमा एसएसबीले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
भारतीय पक्षका उपमहानिरीक्षक बी। विक्रमनले सीमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन डिजिटल बोर्डर र बाहिनीस्तरीय सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।














