हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले आफूलाई बलात्कार गर्ने धम्की आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।नगरलाई महिलामैत्री शहर घोषणा गर्न लागिएको संवेदनशील घडीमा आएको यस्तो धम्कीले समाजको वास्तविक अनुहार देखिएको उहाँले लेख्नुभएको छ ।
फेसबुकमा स्टाटस उहाँले लेख्नुभएको छ, “महिला भएर जन्मनु जति गर्वको कुरा हो, नेपाली समाजमा महिला भएर बाँच्नु त्यति सजिलो छैन । जेनजी आन्दोलनपछि मैले यो समाजको वास्तविक अनुहार देखेकी छु ।” उहाँका अनुसार फेसबुक र ह्वाट्सएपको इनबक्समा उहाँलाई बलात्कार गर्ने थुप्रै धम्कीका सन्देशहरू आएका छन् ।
लामाले लेख्नुभएकोछ, “राति राति फोन गरेर ‘एक पटक भेटेर बसेर विवाद टुङ्याउँ’ भन्ने प्रस्तावहरू आउँथे । माफ मागे पनि अर्थ राख्दैनथ्यो । मधेश प्रदेशको विरोधी बनाएर अनेक आरोप लगाइयो ।” उहाँले आफूलाई लक्षित गरेर गरिएका आक्रमण र धम्कीका बीच पनि नगरका महिलाको पक्षमा काम नरोकिएको पनि बताउनुभयो ।
हेटौंडालाई महिला मैत्री सहर घोषणा गर्नका लागि सहयोगी दातृ संस्था युएनओपीएससँग सम्झौता सम्पन्न भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सम्झौता गरिरहँदा पनि ती धम्की दिने युवाहरू सम्झिरहेकी थिएँ । एउटी महिला, त्यो पनि नगर प्रमुख, बलात्कारको धम्की सहनुपर्ने समाजमा सामान्य महिला कति सुरक्षित होलिन ?” उहाँले प्रश्न गर्नुभएको छ ।
बाराको हलखोरिया साझेदारी वन र राष्ट्रिय जनवकालत मञ्च, नेपालले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– १८ का विपन्न दलित बस्तीमा “एक घर एक आँप र कागती” अभियान अन्तर्गत दुई सय वटा फलफूलका बिरुवा वितरण गरेको छ ।हलखोरिया साझेदारी वन र राष्ट्रिय जनवकालत मञ्च, नेपालको सहकार्यमा भएको विरुवा वितरणले स्थानीय दलित र विपन्न परिवारहरूलाई आत्मनिर्भरता र हरित वातावरण प्रवद्र्धन गर्न मद्दत पुग्ने वडा अध्यक्ष चतुरबाबु वाग्लेले बताउनुभयो । विरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले अभियानबाट दलित समुदायको जीवनस्तर उकास्न र वातातावण संरक्षणमा सहयोग पु¥याउने विश्वास पनि व्यक्त गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका सहभागीहरूलाई बिरुवा संरक्षण तथा फलफूल उत्पादन सम्बन्धी छोटो प्रशिक्षण समेत दिइएको थियो ।वडा अध्यक्ष वाग्लेले दुबै सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता साझेदारी कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

















