राजन कुमार बानिया
पोखरिया,पर्साको ठोरी नाकामा वर्षौँदेखि बन्द अवस्थामा रहेको ठोरी नाकामा रहेको अमृत धारा छोटी भन्सार कार्यालय बुधवारदेखि सेवा थप गर्दै पुनः सञ्चालनमा आएको छ ।पर्सा जिल्लाकै दोस्रो नाका ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरी स्तरोन्नति गरिएको वर्षौँ बितिसक्दा पनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिँदा लामो समयदेखि बन्द थियो ।

यद्यपि हालै सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउने निर्णय गरेकाले बुधवारदेखि ठोरी छोटी भन्सार कार्यालय सेवा थप गर्दै पुनः सञ्चालनमा ल्याइएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताउनुभयो ।यसअघि उक्त भन्सार कार्यालय सञ्चालनमा रहँदा बखत घरायसी प्रायोजनका लागि भारतबाट ल्याइने अधिकतम १० हजार रुपैयाँ मूल्यका सामानको मात्रै भन्सार प्रज्ञापन पत्र काट्ने सेवा उपलब्ध थियो । तर बुधवारदेखि उक्त सेवासँगै भारतबाट नेपाल आउने सवारी साधनको अस्थायी पैठारीको अनुमति दिने सेवा पनि थप गरिएको पन्थीले बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार बुधवारदेखि पुनः सञ्चालनमा आएको छोटी भन्सार कार्यालयमा वीरगञ्ज भन्सार कार्यालयले नायब सुब्बा अभिषेक सिंह र एक कार्यालय सहयोगीसहित दुई जना कर्मचारी खटाएको छ ।लामो समयको प्रतीक्षापछि ठोरी छोटी भन्सार कार्यालय थप सेवासहित पुनः सञ्चालनमा आएपछि ठोरीका व्यापारी, सर्वसाधारण सबै हर्षित बनेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।योसँगै भारतबाट ठोरी नाका हुँदै नेपाल घुम्न आउने खास गरी भारतीय पर्यटकको सङ्ख्या पनि अब बढ्ने उहाँले बताउनुभयो । अब पर्यटकहरू ठोरी नाका हुँदै सहजै नेपालको गन्तव्यमा जान पाउने हुँदा पर्यटकको सङ्ख्या पनि बढ्ने र यसले ठोरीको बजार, होटेल लगायतका व्यवसायलाई पनि चलायमान बनाउने उहाँले बताउनुभयो ।

ठोरीका युवा अगुवा प्रकाश खनालले पनि लामो समयदेखि बन्द रहेको भन्सार पुन सञ्चालनमा आएपछि सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर ल्याइने सामानको भन्सार राजश्व तिर्न अब वीरगञ्ज नै धाउनु पर्ने बाध्यता हटेको बताउनुभयो ।
बुधवार आयोजित औपचारिक कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाले रिबन काटेर थप सेवासहितको भन्सार कार्यालय पुनः सञ्चालनको समुद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा चितवनका प्रदेश सभा सदस्य ठाकुर ढकाल, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, चितवनको माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगञ्जका प्रमुख प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।

यसअघि गत माघ २७ गते नै तत्कालीन अर्थमन्त्री रामशरण महत आफै ठोरीमा आएर ठोरी छोटी भन्सार कार्यालयको समुद्घाटन र पुनः सञ्चालन गर्ने कार्यक्रम तय गरिएको थियो । तर उक्त कार्यक्रम अन्तिम समयमा आएर बिना कारण स्थगित भएको थियो ।पर्साको ठोरी गाउँपालिका तथा चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरूको संयुक्त टोलीले काठमाडौँस्थित अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायमा पटक–पटक पुगेर ठोरी छोटी भन्सार पुनः सञ्चालनका लागि दबाबसहितको आग्रह गर्दैआएका थिए ।

Leave a Reply