वीरगञ्ज,पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलवार छापामारी गरेको छ ।हेटौँडास्थित आयोग कार्यालयबाट खटिएको टोलीले नगरपालिकाभित्र देखिएको बेथिति र अनियमिततासम्बन्धी उजुरीका आधारमा छापा मारेको हो ।छापा मार्ने क्रममा अख्तियारको टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गरेको थियो । जाँचका क्रममा शाखामा रहेका कागजातहरू नियन्त्रणमा लिँदा अधिकांश बिल भुक्तानीसम्बन्धी कागजात मात्र भेटिएको आयोग स्रोतले जनाएको छ ।

तर, जिन्सी शाखामा अभिलेखित हुनुपर्ने सामग्री कार्यालयमा नभई मेयर प्रद्युम्न चौहान तथा केही कर्मचारीहरूको घरमै फेला परेको स्रोतहरू बताउँछन् । यसले नगरपालिकाभित्र व्यापक अनियमितता र दुरुपयोग भएको आशङ्का झन् बलियो पारेको छ ।अख्तियारको टोलीले आवश्यक नाप–जाँच तथा कागजातहरू सुरक्षित गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाले पोखरिया नगरपालिकाको वित्तीय व्यवस्थापन, सामग्री अभिलेखन र कार्यालय पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।यसअघि केही दिन अगाडी मात्रै स्थानीयहरूले पोखरिया नगरपालिकामा बेथिति बढेको भन्दै विरोध जनाएका थिए ।

Leave a Reply