एजेन्सी । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा हुन लागेको यस निर्वाचनलाई उनको सरकारप्रतिको जनसमर्थन मापन गर्ने महत्त्वपूर्ण राजनीतिक परीक्षाका रूपमा हेरिएको छ ।
यस निर्वाचनले अमेरिकी संसद् कंग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटको शक्ति सन्तुलन निर्धारण गर्नेछ । निर्वाचन परिणामले ट्रम्प प्रशासनलाई आगामी दुई वर्ष आफ्नो नीतिगत एजेन्डा कार्यान्वयन गर्न कति सहज हुन्छ भन्ने पनि तय गर्नेछ ।
अमेरिकी निर्वाचन आयोगका अनुसार मतदाताले आफ्नो राज्य र निर्वाचन क्षेत्रअनुसार संघीय, राज्य तथा स्थानीय तहका प्रतिनिधि चयन गर्नेछन् ।
यसपटक प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका कुल १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ । सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुनेछन् । यसका अतिरिक्त ३६ राज्यमा गभर्नर चयनका लागि समेत मतदान हुँदैछ ।
हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यसैले डेमोक्र्याटिक पार्टीका लागि यस निर्वाचनमा आफ्नो संसदीय शक्ति विस्तार गर्नु प्रमुख चुनौती बनेको छ ।
प्रतिनिधिसभामा रिपब्लिकनको बहुमत निकै साँघुरो रहेकाले केही निर्वाचन क्षेत्रको परिणामले पनि सदनको शक्ति सन्तुलन बदल्न सक्छ । त्यस्तै, सिनेटमा बहुमत हासिल गर्न डेमोक्र्याटहरूले चार सिटको खुद वृद्धि गर्नुपर्ने अवस्था छ ।
ट्रम्पका लागि किन महत्त्वपूर्ण ?
अमेरिकामा मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ । सामान्यतया मध्यावधि निर्वाचनमा सत्तारूढ राष्ट्रपतिको दलले संसद्मा आफ्नो बहुमत गुमाउने जोखिम रहन्छ ।
यदि डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय निगरानी, अनुसन्धान र राजनीतिक दबाब बढ्न सक्छ । यसले ट्रम्पलाई आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन कठिन बनाउन सक्छ ।
तर, रिपब्लिकन पार्टीले दुवै सदनमा आफ्नो बहुमत कायम राख्न सकेमा ट्रम्प प्रशासनलाई नीतिगत निर्णय कार्यान्वयन गर्न थप सहज हुनेछ ।
रोयटर्सका अनुसार यसपटकको निर्वाचनमा जीवनयापनको बढ्दो लागत, आर्थिक अवस्था, इरानसँगको युद्ध तथा ट्रम्प प्रशासनका विभिन्न नीतिहरू प्रमुख चुनावी मुद्दा बनेका छन् ।
यस निर्वाचनको परिणामले ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा निर्धारण गर्नुका साथै सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनअघि रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको रणनीति तथा शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

















