बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक जना घाइते भएका छन् ।
सोमबार साँझ भएको घटनामा स्थानीय ३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् । उनको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल गण्डकमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा त्यसबाट निस्किएको छर्रा उत्तमलाई लागेको थियो । घटना लगत्तै उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
बन्दुक पड्काउने गोविन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट दुई नाल भरुवा बन्दुकसमेत बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ ।
















