रौतहट,१४ वर्ष बितिसक्दा पनि रौतहटको टिकुलियास्थित पक्की पुल निर्माण सम्पन्न नभएपछि यात्रुहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन । पुल निर्माण नभएपछि सो सडक भएर आवतजावत गर्ने सर्वसाधारण यात्रु इशनाथ नगरपालिकाले नदी आरपार गर्न निर्माण गरेको कच्ची डाइभर्शन प्रयोग गर्न बाध्य भएका हुन ।

रौतहटको सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको पुल निर्माणमा भएको ढिलासुस्तीपछि नगरपालिकाले नदीमा ह्युम पाइप राखेर वैकल्पिक कच्ची बाटो निर्माण गरेको हो ।वर्षातको समयमा बाढी आउँदा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने उक्त नदीमा हाल पानी कम भएपछि पालिकाले वैकल्पिक बाटो निर्माण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताउनुभयो । उहाँका अनुसार वैकल्पिक बाटोले सदरमुकाम पुग्न २०÷२२ किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्ने अवस्था टरेको छ ।
विशेष कामले सदरमुकाम गौर आउन र गौरदेखि लालबकैया नदी पारीको गाउँ जान पर्दा ह्युम पाइपको बाटोले निकै सहज बनाएको बन्जराहाकी किसान जयन्ती मालाले बताउनुभयो ।समयमा पक्की पुल निर्माण सम्पन्न नहुँदा लालबकैया नदी पारीका बन्जराहा, औरैया, मठियालगायत इशनाथ नगरपालिकाका नागरिक वर्षायाममा जिल्ला सदरमुकाम आउजाउ गर्न तथा सदरमुकाम घर भई बकैया पारी खेतबारीमा काम गर्ने किसानहरु जोखिमपूर्ण डुङ्गायात्रा गर्नुपर्ने बाध्यतामाछन ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले टिकुलिया घाटमा २०७१ असार २९ गते पुलको शिल्यान्यास गर्नु भएको भएपनि निर्माण कार्य अझै पुरा भएको छैन ।
पप्पु कन्स्ट्रक्सनले करिब १४ करोड ९२ लाख २७ हजार १५० रुपियाँमा पुल निर्माणको ठेक्का सकार गरेको थियो । २०७४ असार २५ गतेभित्र निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गर्नुपर्नेमा एक दशक बितिसक्दा पनि सम्पन्न नभएपछि कालो सूचीमा परेको उक्त कन्स्ट्रक्सन निलम्बित भयो र हाल ठेक्कासमेत तोडिएको छ ।त्यसपछि २७ करोड रुपियाँमा ठेक्का सकार गरेको आजाद दिपु जेभीले पनि भुक्तानीमा भएको ढिलासुस्तीका कारण निर्माण कार्य अघि बाढाउन सकेको छैन । ्हाल ठेक्का रकम भुक्तानीमा समस्या आएकोले निर्माण कार्य प्रभावित बनेको डिभिजन सडक कार्यालय रौतहटका इन्जिनियर अशोक यादवले बताउनुभएको छ । उहाँका अुनसार बजेट व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयमा फाइल पेस भएको छ तर कार्यान्वयन हुन सकेको छैन । पुल निर्माणको काम हालसम्म करिब ५० प्रतिशत भएको छ ।
समयमै पक्की पुल निर्माण सम्पन्न नहुँदा २०७५ साल भदौ ९ गते सोही स्थानमा भएको डुङ्गा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।


















