गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मतदान छिटफुट रूपमा बाहेक शान्तिपूर्ण रूपमा भयो । मतदान गरेर जनताले आफ्नो अधिकार र कर्तव्य दुवै पूरा गरे । १ करोड ७७ लाख २३ हजार ७ सय २३ मतदातामध्ये १ करोड १८ लाख ५६ हजारभन्दा बढीले मतदान गरेका छन् । यो ६६ दशमलव ८८ प्रतिशत हो । त्यतिका प्रतिशत मतदाताले निर्वाचनमा भाग लिनु सन्तोषजनक मान्नुपर्छ ।

लोकतान्त्रिक मुलुकहरूमा सामन्यतया ६० प्रतिशतभन्दा बढी मतदान हुनुलाई सन्तोषजनकै मानिन्छ । मानौं कि २०७४ सालको स्थानीय निर्वाचनमा भने ७४ प्रतिशत मतदान भएको थियो ।

स्थानीय जनप्रतिनिधि नभएको १५ वर्ष लाग्दा भएको थियो ०७४ सालमा स्थानीय निर्वाचन। त्यस्तो बेला धेरै उत्साह हुनु स्वाभाविक थियो । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । जनताको दैनन्दिनको कामकाजसँग ठोक्किने सरकार यही हो । यसर्थ पनि मतदाता यो निर्वाचनमा सहभागी हुन उत्साही हुनु स्वाभाविक हो । निर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता वास्तवमा लोकतन्त्रको सम्मान हो । निर्वाचनमा दल वा उम्मेदवारको जित(हारभन्दा पनि मतदाताको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको जित भएको सन्देश दिएको छ ।

२०७२ सालमा आएको नेपालको संविधानलाई संस्थागत गर्न पनि स्थानीय तहको यो निर्वाचन महत्वपूर्ण थियो । स्थानीय तहमा दोस्रोपटक निर्वाचन हुनु र त्यसमा मतदाताको उत्साह देखिनुले संविधानलाई समेत बलियो बनाएको छ । स्थानीय सरकारको परिकल्पना यही संविधानको हो । अधिकार सम्पन्न स्थानीय तह यही संविधानको परिकल्पना हो।त्यसो त धेरै ठाउँको मत परिणाम पनि आइसकेको छ र जनप्रतिनिधिहरु काममा फर्किएका पनि छन्, अब जे भएपनि उनीहरुले काम गरेर देखाउने समय आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here