निजगढ,सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ का अभिभावकहरुले विद्यालयले बालबालिकाहरुलाई प्रदान गरिरहेको सिकाइ राम्रो र गुणस्तरीय रहेको बताएका छन् ।

विद्यालयमा शुक्रवार आयोजना गरिएको अभिभावक, शिक्षक तथा सरोकारवानवीचको अन्तक्रिया कार्यक्रमका सहभागी अभिभावकहरुले विद्यालयले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन राम्रो भूमिका खेलिरहेको बताएका हुन् । कार्यक्रममा बोल्दै शिक्षक अभिभावक संघका सदस्य समेत रहनु भएकी अभिभावक शुशिला सापकोटा कार्कीले आफ्नो घरका ३ जना बालबालिका विद्यालयमा पढिरहेका भन्दै अन्य विद्यालय तथा बोर्डिङ स्कुलमा पढेका बालबालिकाभन्दा राम्रो पढाइ भएको आफुले पाएको बताउनुभयो । बालबालिकालाई घरमा राम्रो वातावरण दिएर पढाउने हो भने सरकारी विद्यालयको सिकाइमा कुनै कमी नभएको उहाँको भनाई छ ।

निजगढस्थित गौरीशंकर बहुमुखी क्याम्पस र विद्यालयबीचको संझौता बमोजिम शैक्षिक सुधार सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शंकर रुम्बाले विद्यालयमा पठनपाठन, व्यवस्थापन लगायतका कुरामा सुधार हुँदै आएको भन्दै अझै शिक्षकहरुले प्रतिबद्ध भएर अघि बढिरहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा गौरीशंकर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष एकबहादुर श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । आफ्ना बालबालिकाले गरिरहेका क्रियाकलापबारे अभिभावक सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो । सोही क्रममा क्याम्पसका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. मायानाथ घिमिरेले अभिभावक शिक्षा, सामुदायिक विद्यालयका बिशेषता, विद्यालयको अवस्था, सुधार गर्नुपर्ने कुरा तथा यसका लागि गर्नुपर्ने क्रियाकलापका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले विद्यालयको अवस्था, गरिरहेका गतिविधि, सफल अभ्यासको बारेमा जानकारी गराउनु भएको थियो । आफुले गुणस्तरीय शिक्षा दिएर अभिभावकको मन जित्ने प्रयास गरिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले यसमा विद्यालय सफल हुँदै गईरहेको बताउनुभयो । नयाँ शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गर्न अभिभावक भेटघाट, अन्तरक्रिया, छलफल लगायतका क्रियाकलाप गरिने प्रधानाध्यापक स्वर्णकारको भनाई छ । अन्तरक्रियामा विद्यालयका सल्लाहकार संयोजक धनश्याम लम्साल, व्यवस्थापन समिति सदस्य विरेन्द्र महतो, रीना योञ्जन, अभिभावक सचिन गुरुङ, अशोक गुरुङ, सुजना सापकोटा, शिक्षकहरु हरिशरण सुवेदी, किरण, श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।यसैबीच सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको बिदाई गरिएको छ । यही चैत्र ३ गतेबाट सञ्चालन हुने निजगढ नगरस्तरीय बार्षिक परीक्षाको सफलताको कामना गर्दै बिदाई गरिएको हो । सो अवसरमा विद्यार्थीलाई निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकार र शिक्षकलगायतले अबिर लगाएर कपी, कलम दिएर परीक्षामा सफलताको लागि शुभकामना दिएको विद्यालयका शिक्षक टेकराज भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply