पुष्पराज खतिवडा
बारा,नेपाल अपाङ्ग सेवा संघ बाराले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अपाङ्ग भएका चार परिवारलाई भैंसीको पाडी वितरण गरेको छ ।मंगलवार सोही वडाको उचिडी स्थति नेपाल अपाङ्ग सेवा संघ बाराका कोषाध्यक्ष शंकर दाहालको घरमा विशेष कार्यक्रमको आयोजना गरी पाडी विरण गरिएको हो ।

पाडी पाउनेहरु वडा नम्बर १८ का अपाङ्गता भएका सुरेश राई,रतिया देवी राम, सोनिया देवी पंडित र मणिक बल छन् । उनीहरुका अभिभावकहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा अध्यक्ष चतुरबाबु वाग्ले, नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलगायतले पाडी हस्तान्तरण गरेका हुन ।सो अवसरमा वडा कार्यालयको खर्चमा वितरण भएका ४ वटै पाडीहरुको नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले आफ्नो खर्चमा बीमा गरिदिने कार्यक्रममा घोषणा गर्नुभयो ।
वडा नम्बर १८ को वडा स्तरीय योजनाको एकलाख रकमबाट प्रति २० हजारका दरमा पाडी खरिद गरिएको हो । अपाङ्गता भएका व्यक्तिका परिवारको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले पाडी वितरण गरिएको वडा अध्यक्ष वाग्लेले बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरको बजेटबाट पहिलो पटक उदाहरणीय कामको सुरुवात भएको बताउँनुभयो ।आगामी दिनमा प्रत्येक वडालाई यस किसिमको कार्यक्रमका लागि बजेट विनियोज गर्न लगाउने र नगरबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । यस्तै नगरका सम्पूर्णमा अपाङ्गता भएका व्यक्तिहरुको नगरबाट स्वास्थ्य बीमा गरि सहयोग गर्नेसमेत घोषण उहाँले गर्नुभयो ।यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष वाग्लेले विभिन्न नाममा गरिने कार्यक्रमले खासै उपलब्धी नदेखिएपछि जीवन उपयोगी काम गर्ने सल्लाह गरी पाडी वितरण गरिएको बताउनुभयो ।कार्यक्रममा वडा सचिव सीमा उप्रेती, पत्रकार विदुर खड्का, वडा सदस्य लक्ष्मीमाया वाईवा, चेतबहादुर आले, अदरी देवी महरा, स्थानीय कृष्ण वाग्ले, रविनकुमार पराजुली, सन्त लामा लगायतको सहभागिता थियो ।



















