अब कोशी र मधेश प्रदेशका जिल्लाबाट जारी भएका नागरिकताको प्रतिलिपि भक्तपुरबाटै लिन सकिने भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबार पहिलोपटक बाहिरी जिल्लाबाट जारी नागरिकताको प्रतिलिपि उपलब्ध गराएको हो।

कार्यालयका अनुसार ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ को नियम १६(घ) तथा गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यसअन्तर्गत कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिले भक्तपुरबाट प्रतिलिपि लिन सक्नेछन्।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माका अनुसार प्रतिलिपिका लागि सम्बन्धित वडा वा नागरिकता जारी भएको जिल्लाको सिफारिस आवश्यक पर्ने छैन। सम्बन्धित व्यक्तिले निवेदन दिएपछि आवश्यक प्रक्रिया पूरा गरी एकै दिनमा प्रतिलिपि उपलब्ध गराउन सकिनेछ।

प्रतिलिपि लिन पुरानो नागरिकताको फोटोकपी र राष्ट्रिय परिचयपत्रको फोटोकपी आवश्यक पर्नेछ। त्यसपछि गृह मन्त्रालयले उपलब्ध गराएको उपकरणमार्फत औँठाछापसहित जैविक विवरण लिएर अभिलेख प्रमाणीकरण गरिनेछ।

तर, केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली र राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली (एनआईडीएमएस) मा रहेको विवरणबीच फरक देखिएमा प्रतिलिपि जारी नहुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

बाहिरी जिल्लाबाट जारी नागरिकताको प्रतिलिपि लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको कार्यालयले जनाएको छ।

Leave a Reply