काठमाडौं । केवल ४१५ रुपैयाँको सामान खरिद गरेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन्।

धनुषाको नगराइन नगरपालिका–९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जितेका हुन्।

पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए। उक्त सामानको भुक्तानी उनले ई–सेवामार्फत गरेका थिए।

आन्तरिक राजस्व विभागले सोमबार विजेताको नाम सार्वजनिक गर्दा पण्डित १० लाख रुपैयाँको पुरस्कार जित्न सफल भएका हुन्।

पुरस्कार जितेपछि खुसी व्यक्त गर्दै पण्डितले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी बसाल्न सबैलाई आग्रह गरेका छन्।

सानो रकमको खरिदमा समेत बिल लिँदा ठूलो पुरस्कार जित्न सकिने उनको अनुभवले देखाएको छ।

Leave a Reply