काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी दल, संसद्, जनता र सञ्चार जगत्लाई हेप्दै ज्यादती बढाएको आरोप लगाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै महामन्त्री पौडेलले सरकार पूर्ण रूपमा स्वेच्छाचारी बन्दै गएको दाबी गरेका हुन् ।

सरकारले संविधान र कानुनको बेवास्ता गर्दै सत्ताको चरम दुरुपयोग गरिरहेको उनको आरोप छ। कानुनी व्यवस्थालाई कमजोर बनाउँदै राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर पार्ने काम भइरहेको उनले बताए ।

बैठकमा उनको भनाइ उद्धृत गर्दै एक सांसदले सरकार स्वेच्छाचारी बनेको, संविधान र कानुनको बेवास्ता गरिएको तथा कानुनी व्यवस्थालाई कमजोर बनाएर सत्ताको दुरुपयोग भइरहेको जानकारी दिएका थिए ।

महामन्त्री पौडेलले सरकारका गलत कदमविरुद्ध संसद्मा सशक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्नुपर्ने उनको धारणा छ।

उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक तत्काल आह्वान गर्न कांग्रेसले माग गर्नुपर्ने बताए ।

महामन्त्री पौडेलले अदालतमा बिचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्व मुछिएको भनिएको ‘सेटिङ प्रकरण’बारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने उनको भनाइ छ। सरकार आफैँले यस विषयमा निष्पक्ष छानबिन गर्नेमा विश्वास नरहेको उल्लेख गर्दै उहाँले संसदीय समितिमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेका थिए ।

Leave a Reply