निजगढ,नगरबासीको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले निजगढ नगरपालिकाले संचालन गरेको ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गता भएकाहरुसंग निजगढ नगर’ कार्यक्रमको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीसहितको टोलीले सोमवार अनुगमन गरेको छ ।

नगर प्रमुख पुरीसहित उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक प्रीन्स तिवारी, विकास लामा, निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, कार्यक्रमका फोकल पर्शन मणिश्वर घिमिरे सम्मिलित टोलीले निजगढ नगरपालिका वडा नम्बर ८ को खयरघारी र वडा नम्बर ६ को सडकटोलका बिमारीको घरमा पुगेर कार्यक्रमको अनुगमन गरेको हो । अनुगमनको क्रममा नगर प्रमुख पुरीले बिरामीहरुलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै गुनासो पनि सुन्नुभएको थियो । उहाँले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन पनि दिनुभएको थियो ।

यसअघि आइतवार पनि नगर प्रमुख पुरीले निजगढ वडा नम्बर १, २ र ३ र उपप्रमुख थिङ्ग र प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले वडा नम्बर १२ र १३ का विभिन्न बस्तिमा पुगेर कार्यक्रमको अनुगमन र बिरामीसंग भेटघाट गर्नुभएको थियो ।
कार्यक्रमअन्तर्गत वडामा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलीले हरेक महिनाआफ्नो वडाका लक्षित समूहका बिरामीहरुकोघरमै पुगेर स्वास्थ्य परीक्षण र औषधि सेवा समेत प्रदान गर्दैआएको छ । ‘महिनाको एक पटक बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिन्छ, कार्यक्रमका फोकल पर्शन मणिश्वर घिमिरेले भन्नुभयो, अवस्था जटिल भएका बिरामीहरु फेला परेको खण्डमा भने चिकित्सकलाई घरमै बोलाएर पनि उपचार र परामर्श सेवा दिने गरिएको छ ।’ यसको लागि प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सकहरुको टोली परिचालन गर्ने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षबाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत पहिचान गरिएका बिरामीहरुको घरमै पुगेर स्वास्थ्यकर्मीहरुले रक्तचाप, मधुमेह र पिसावपरीक्षणको साथै परामर्श तथा औषधिलगायतका सेवाप्रदान गर्दैआएका छन ।कार्यक्रमबाट नगरपालिकाका २ हजार ६ सय ५० जना जेष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरुलाई सेवा प्रदान गरिदैआएको फोकल पर्शन घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply