कलैया,नेपाल पत्रकार महासंघ बाराले वीरेन्द्र साह र विनोद प्याकुरेल पत्रकारिता पुरस्कार संचालन गर्ने निर्णय गरेको छ ।
महासंघ बारा शाखामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रमपछि कार्यसमितिको शनिवार कलैयामा सम्पन्न बैठकले बाराका पत्रकारहरुको स्मृतिमा पुरस्कार संचालन गर्ने निर्णय गरेको हो । महासंघका संस्थापक अध्यक्ष प्याकुरेलको सडक दुर्घटनामा र साहको सशस्त्र द्वन्दको क्रममा माओवादी कार्यकर्ताद्वारा हत्या गरिएको थियो ।
महासंघले यसअघि पनि स्वर्गीय पत्रकारहरुको नाममा पुरस्कार स्थापना गरेको भएपनि लामो समयदेखि उक्त पुरस्कार वितरण गरिएको थिएन । महासंघले संचालन गर्ने दुबै पुरस्कारको राशीको बारेमा भने खुलाएको छैन । ‘दुबै पुरस्कारलाई निरन्तरता दिने निर्णय गरिएको छ, महासंघका जिल्ला अध्यक्ष रमेश सुवेदीले भन्नुभयो, पुरस्कार राशीको बारेमा भने कार्यसमितिले निर्णय गरेअनुसार हुने छ ।’
त्यसैगरी बैठकले बारा क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारा शाखामा एक लाख रुपैयाँको अक्षयकोष स्थापनाको लागि सहयोग घोषणा गर्नुभएकोमा सांसद श्रेष्ठलाई र महासंघको निर्वाचन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।यसैबीच प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले बारा शाखामा नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । आफूले सपथ लिएपछि अध्यक्ष सुवेदीले कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुलाई पनि सपथ गराउनुभएको थियो ।
निर्वाचन समितिले गत मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिका पदाधिकारी, केन्द्रीय परिषद र प्रदेश परिषद सदस्यहरुलाई शनिवार नै पदको प्रमाणपत्र पनि वितरण गरेको छ । नेपाल पत्रकार महासंघ बाराका निवर्तमान अध्यक्ष रेशम तिवारीले नवनिर्वाचित अध्यक्ष सुवेदीलाई महासंघको बैठक पुस्तिका र अन्य सामग्री हस्तान्तरण गरेपछि कार्यसमितिको बैठक बसेको हो ।
पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु सिकेन्द्र पासवान, राजु विश्वकर्मा, महासंघ बाराका पूर्वअध्यक्ष एवंम प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजाल, मेची महाकाली मिडीया सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस सेण्टरका रमेश साह लगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।कार्यक्रमको संचालन निर्वाचन अधिकृत रुद्ध धितालले गर्नुभएको थियो ।

















