निजगढ,विश्व वातावरण दिवसको अवसरमा बिहीवार निजगढ नगरपालिका वडा नम्बर ९ को आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पर्ने बाल पार्कमा फलफूलका विरुवा रोपिएको छ ।भू तथा जलाधार व्यवस्थापन कार्यालय वीरगञ्जको आयोजनामा आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूह र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) निजगढ नगर महासंघको सहकार्यमा भएको सो वृक्षारोपण कार्यक्रम निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, भू तथा जलाधार व्यवस्थापन कार्यालय वीरगञ्जका वरिष्ठ जलाभार व्यवस्थापन प्रमुख विरेन्द्रप्रसाद पटेललगायतले पार्क क्षेत्रमा धुपी, गोलमोरलगायत फूल प्रजातिका ७५ वटा विरुवा रोपेका थिए ।

वृक्षारोपण शुरु हुनुअघि भू तथा जलाधार व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख विरेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख पुरीले प्लास्टिकजन्य प्रदुषण विश्वको नै सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको बताउनुभयो । उहाँले हावा, पानी, माटो, वनस्पति र वन्यजन्तुको समष्टि रुप नै वातावरण भएको बताउदै मानवलगायत पृथ्वीमा सबै प्राणीहरुको अस्तित्व रक्षाको लागि वातावरण संरक्षण जरुरी भएको पनि बताउनुभयो ।कार्यक्रममा फेकोफन निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद पाण्डे, निजगढ सबडिभिजन वन कार्यालयका प्रमुख निरज पोखरेल, भू तथा जलाधार व्यवस्थापन कार्यालयका संरक्षण अधिकृत सरोज चौधरीलगायतले वातावरण संरक्षणको महत्वको बारेमा बोल्नुभएको थियो ।कार्यक्रममा निजगढ क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता र संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कार्यालयका संरक्षण सहायक अधिकृत अनिल कोइरालाले गर्नुभएको थियो ।त्यसैगरी विश्व वातावरण दिवसको अवसरमा निजगढ ७ स्थित जनज्योति सामुदायिक वन समूहले पनि वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । वन समूहले समूहको कार्यालय भवन परिसरमा आँप, लिची, कटहर प्रजातिका बिरुवा रोपेको समूहका अध्यक्ष खडगबहादुर लामाले जानकारी दिनुभयो ।कार्यक्रममा समूहका पदाधिकारी, उपभोक्ता र निजगढ सबडिभिजन वन कार्यालयका प्रमुख निरज पोखरेललगायतले विरुवा रोपेका थिए ।
पिसपार्कमा मनाइयो वातावरण दिवस
पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित पिस पार्कमा विश्व वातावरण दिवसको अवसरमा बिहीवार विहान विशेष कार्यक्रम सम्पन्न भएको छ । सोही वडाका वडा अध्यक्ष हरिदेव खरेलले रुद्राक्षको विरुवा रोपेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।कार्यक्रममा डुमवाना बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार मैनाली, क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र अर्याल, ससस्त्र प्रहरी ४० नम्बर रिर्जव गण पिलुवाका प्रमुख एसपी नवराज थापा, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा लगायतको सहभागिता थियो ।

पूर्वजनप्रतिनिधि तुलसा मैनाली, सामाजिक अगुवा ज्ञानेन्द्र चौलागाई, गोपाल श्रेष्ठ, केदार गौतम, अर्जुन खरेल, बेनीबहादुर मुक्तान लगायत एकसय बढीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको संरक्षणमा रहेको पिस पार्क (शान्ति बाटिका) मा वर्षेनी वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रमसहित वृक्षरोपण हुँदै आएको छ ।शान्ति वाटिका परिसरमा आँप, कटहर, लिची, अमला, साल, रुद्राक्ष लगायत विभिन्न प्रजातिका बोट विरुवा हुर्किएका छन् । पार्क क्षेत्रमा लटरम्म फलेका आँप, कटहर र लिचीको बगैचा छ । पार्कको हरियाली र शान्त वातावरणबाट त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको वडा अध्यक्ष खरेलले जानकारी दिनुभयो ।कार्यक्रमको अध्यक्षता राजयोगिनी पार्वती बहन, स्वागत गोमा बहन र कार्यक्रमको संचालन तथा सहजीकरण राजयोगी ब्रम्हकुमार गुणराज लामिछानेले गर्नुभएको थियो ।

Leave a Reply