जेनजी अगुवा किरण विकले प्रहरी न्यूजरुममा प्रवेश गरी पत्रकारमाथि गरेको धरपकडको विरोध जनाएका छन्। आइतबार नेपाल प्रेसको कार्यालयमा पुगेर उनले स्वतन्त्र पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै सञ्चारकर्मीप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।
समाचारकै विषयलाई आधार बनाएर सञ्चारगृहभित्रै पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै विकले यसलाई ‘प्रहरी सिर्जित आतंक’ को संज्ञा दिए।
नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल, अध्यक्ष विन्दुराज लम्साललगायतसँगको छलफलमा विकले राज्य र जनताका पक्षमा खबरदारी गरिरहेका सञ्चारमाध्यममाथि घण्टौँसम्म प्रहरी धरपकड हुनु अनुचित भएको बताए।
पत्रकार तथा सञ्चारमाध्यमले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित नभएसम्म लोकतन्त्र र विकास सुदृढ हुन नसक्ने उनको भनाइ थियो। प्रहरीको कदमले नेपालको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै उनले प्रहरी संगठनको दुरुपयोग भएको विषयलाई थप चिन्ताजनक बताएका छन्।
संसदमा सरकारसँग दुईतिहाइ समर्थन भए पनि जनताको विश्वास र लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा सरकार अझै परीक्षणकै अवस्थामा रहेको विकको टिप्पणी छ। उनले सञ्चारकर्मीको सुरक्षा र प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराए।
घटनाको तेस्रो दिनसम्म पनि सरकारले छानबिन प्रक्रिया अघि नबढाएको र स्पष्ट जवाफदेहिता सार्वजनिक नगरेको भन्दै विकले असन्तुष्टि व्यक्त गरेका छन्।
















