मधेश प्रदेश सरकारले सार्वजनिक खर्च प्रणालीलाई पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउन नयाँ बजेट खर्चसम्बन्धी कार्यविधि लागू गरेको छ। प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयमा आर्थिक अनुशासन कायम गर्दै बजेटको दुरुपयोग र वित्तीय अनियमितता नियन्त्रण गर्ने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको हो।
अर्थमन्त्री युवराज भट्टराईले सार्वजनिक वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘मधेश प्रदेश बजेट खर्चसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएका हुन्।
नयाँ कार्यविधिअनुसार प्रदेशका मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय तथा अन्य सार्वजनिक निकायले स्वीकृत वार्षिक बजेट निर्धारित समयभित्र खर्च गर्नुपर्नेछ। आर्थिक वर्षको अन्त्यमा अनावश्यक रूपमा बजेट खर्च गर्ने प्रवृत्ति रोक्न र खर्च प्रणालीलाई योजनाबद्ध बनाउन कार्यविधिमा विभिन्न व्यवस्था गरिएको छ।
कार्यविधिमा आर्थिक वर्षभित्र खर्च हुन नसकेको बजेटलाई सरकारी बाँकीसरह लगत कायम गरी असुली प्रक्रिया अघि बढाउन सकिने प्रावधान राखिएको छ। यसअन्तर्गत प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता तथा जायजेथा रोक्का गर्ने, लिलाम बिक्री गर्ने र आवश्यक कानुनी कारबाही अघि बढाउन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, आर्थिक वर्षको भुक्तानी हुन बाँकी रकममा वार्षिक १० प्रतिशतका दरले ब्याज असुल गर्ने प्रावधानसमेत समेटिएको छ। यस व्यवस्थाले बजेट खर्च तथा भुक्तानी प्रक्रियामा सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
नयाँ कार्यविधिअनुसार प्रत्येक आर्थिक वर्षको भदौ १५ गतेभित्र बजेट खर्चसम्बन्धी कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेछ। यसले बजेट विनियोजनदेखि खर्च र कार्यान्वयनसम्मको प्रक्रियालाई समयबद्ध तथा व्यवस्थित बनाउने सरकारको विश्वास छ।
त्यसैगरी, बजेट खर्चको अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउन सूचना प्रणालीको प्रयोग अनिवार्य गरिएको छ। नेपाल सरकारको प्रचलित वित्तीय व्यवस्थापन प्रणाली एनएएमएस तथा सीजीएएसरसूत्रमार्फत खर्चको नियमित अभिलेख राख्ने र प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको छ।
प्रदेश सरकारले नयाँ कार्यविधिको कार्यान्वयनबाट सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र वित्तीय जवाफदेहिता बढ्ने अपेक्षा गरेको छ। साथै, बजेट खर्चमा हुने ढिलासुस्ती, अनियमितता र आर्थिक वर्षको अन्त्यमा हुने अनावश्यक खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको छ।
















