कृष्णउदास खनाल
गोरखा (अजिरकोट),हरेक प्रतिनिधि सभाको चुनावको समयमा चर्चाको शिखरमा रहने गरेको गोरखाको निर्वाचन क्षेत्र नम्बर २ यस पटक फेरि चर्चामा रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनावका लागि गोरखा २ मा आएपछि फेरि यस पटक यो क्षेत्र चर्चामा आएको हो । अघिल्लो चुनावमा डा.बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएको भीडन्तका कारण चर्चामा रहेको थियो भने अहिले प्रचण्डको गोरखा २ बाट भएको उम्मेदवारीसंगै यस क्षेत्रका मतदाताहरुमा आक्रोश र आशा दुबै पलाएको देखिएको छ । कुनै बेला प्रचण्डको राजनीतिक आधारशिला मानिने गोरखा २ तथा खासगरी भच्चेक क्षेत्रका मतादाताहरुले भने मिश्रित प्रतिकृया दिएका छन् ।
पूर्वप्रधानमन्त्री भएका नाताले प्रचण्डको उम्मेदवारीले गोरखा २ मा विकासको सवालमा फड्को मार्ने आशमा भने यहाँका मतदाताहरुले गरेका छन् । सडक संजालको उचित व्यवस्थापन नभएको यस क्षेत्रमा प्रचण्डले राख्ने चुनावी कार्यक्रमबाट नै केही घोषणा हुने आशामा यहाँका मतादाताहरु रहेका छन् । तर, सशस्त्र संघर्षका क्रममा माओवादीको नाउबाट यस क्षेत्रका केही नागरिकहरु प्रताडित भएकाले प्रचण्डलाई आँखा चिम्लिएर भोट हाल्न सक्ने अवस्थामा आफूहरु नभएको उनीहरुको तर्क छ । माओवादी र प्रचण्डका कारण मानवीय र भौतिक क्षति बेहोर्न परेकाले तत्काल उहाँलाई भोट दिने विषयमा सकरात्मक हुन नसकिने यस क्षेत्रका सशस्त्र संघर्षमा पीडित भएकाहरुको भनाइ छ । नेकपा माओवादीले तत्कालिन समयमा जनयुद्ध संचालन गर्दै गर्दा शुरुमा गोरखामा नै फौजी आक्रमण गरेको थियो ।
जीत सुनिश्चित
सरसर्ति हेर्दा काँग्रेस र माओवादीको साझा उम्मेदवार प्रचण्डको जीत निश्चित जस्तै छ । प्रतिपक्ष एमालेको जनआधार कम भएकाले पनि प्रचण्डको जीत निश्चित देखिएको हो । स्थानीय तहमा माओवादीको बाहुल्यता र काँग्रेसको समेत समर्थन रहेकाले कम्तीमा १० हजार भन्दा बढी मतले प्रचण्डले जित्ने आँकलन छ । काँग्रेसको एक पक्षले मत नदिएपनि प्रचण्डले सहज रुपमा चुनाव जित्ने माओवादीको बुझाइ छ ।



















