जनकपुरधाम ५ कार्तिक ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको रक्षा तथा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अगामी चुनावमा पांच दलीय गठबन्धनको जीत आवश्यक भएको बताउनुभएको छ ।

गठबन्धनले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आमा बुबाको नागरिकता भएका सबै नेपाली नागरिकले निर्वाचनपछि सहज तरिकाले नागरिकता पाउने बताउनुभयो ।

उहांले वर्तमान गठबन्धनको निर्माण लोकतन्त्र तथा संविधानको रक्षाका लागि भएको बताउंदै यसको निरन्तरता मुलुकका लागि अझै आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मङ्सिर ४ गतेको चुनाव सामान्य चुनाव नभएको बताउंदै मुलुकलाई सही दिशा दिनका लागि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पांच दलीय गठबन्धन मुलुकमा अग्रगमन चाहनेहरूको भएको बताउंदै संविधान, संघीयता र गणतन्त्रको रक्षाका लागि बनेको बताउनुभयो ।

उहांले गठबन्धन विपरीत बागी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता नलिए सबै प्रदेशको कार्यक्रम सकिएपछि त्यस्तालाई कारबाही गर्ने विषयमा गठबन्धन दलका नेताहरूबिच सहमति भएको बताउनुभयो ।
प्रचण्डले वर्तमान गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाललाई हटाउनुको कारणमा दोहोरो चरित्र भएको बताउंदै फाइदाका लागि विपक्षीसंग वार्ता गरेको पाइएकाले हटाइएको दाबी गर्नुभयो ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा सुशासन, संविधानको पूर्ण कार्यान्वयन तथा विकासलाई गति दिन गठबन्धन बनेको बताउनुभयो । मुलुकमा राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक रहेको उहांको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरद सिंह भण्डारीले गठबन्धन संविधानको रक्षाका साथै संविधानमा भएको कमी कमजोरीलाई सच्याउनका लागि बनेको बताउनुभयो ।
पांच दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान गठबन्धन सत्ताको लागि मात्र नभई संविधानको रक्षा तथा मुलुकको समृद्धि एवं विकासका लागि भएको बताउनुभयो

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीयता, लोकतन्त्र तथा गणतन्त्रका लागि वर्तमान गठबन्धन बनेको बताउंदै गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नभएको बताउनुभयो ।

नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्ण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नेता आनन्द प्रसाद ढु·ाना लगायतले पनि धारणा राख्नुभएको थियो ।

Leave a Reply