कपिलवस्तुको वाणगंगा नगरपालिका–३, राजापानीबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेर भाग्न खोजेपछि हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख मनोहर भट्टले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको सात सदस्यीय प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको टोलीले शनिबार दिउँसो करिब २ बजे राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा छापा मारेको थियो।

प्रहरीका अनुसार खानतलासी तथा नियन्त्रणमा लिने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा कालो प्लास्टिकमा लुकाएर राखिएको २४ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको अवस्थामा थप ४ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको छ।

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गरिएको ब्राउन सुगरको कुल शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply