जनकपुरधाम,मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री सतीशकुमार सिंहको भारतको अयोध्या भ्रमणले मधेस प्रदेशको बेइज्जत गरेको बताउनुभएको छ ।
मुख्यमन्त्री सिंहले सरकारी आमन्त्रण बीना भारतको अयोध्या भ्रमण गरेपछि पूर्वमुख्यमन्त्री यादवले यस्तो आरोप लगाउनुभएको हो ।
‘मुख्यमन्त्री सिंहको यो कदमले मधेस प्रदेशको बेइज्जत गराएको छ, पूर्वमुख्यमन्त्री यादवले भन्नुभएको छ, मुख्यमन्त्री सिंहको भ्रमण धार्मिक, स्वास्थ उपचार, पारिवारिक वा सरकारी के उद्देश्यले भएको हो स्पष्ट गर्नु आवश्यक थियो ।’
आधा दर्जन मन्त्रीहरूसहित अयोध्या पुग्नुभएका मुख्यमन्त्रीले परराष्ट्र मन्त्रालयसँग स्वीकृति नलिएको र भारतस्थित उत्तरप्रदेश सरकार वा भारतीय राजदूतावाससँग समन्वय नगरेको उहाँले बताउनुभएको छ ।नेपालमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भव्य स्वागत गरिएको इतिहास छ । तर, मधेस प्रदेशका मुख्यमन्त्री भारत भ्रमणमा जाँदा त्यही स्तरको सम्मान पाउन सरकारी आमन्त्रण जरुरी थियो । बिना समन्वयको भ्रमणले प्रदेसको गरिमा घटाएको उहाँले जिकिर गर्नुभएको छ ।
यादवले मुख्यमन्त्री सिंहको यो कार्यलाई पदीय मर्यादाको उल्लंघन पनि भन्नुभएको छ । उहाँले मुख्यमन्त्रीले विश्व हिन्दू परिषद्का जिल्ला अध्यक्षको नेतृत्वमा कुनै कार्यक्रममा सहभागी हुने निर्णय पनि अनुचित रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री सिंह भारतको अयोध्याधाममा आयोजित भगवान् श्रीरामको तिलकोत्सव समारोहमा सहभागी भएर राम मन्दिर ट्रस्टका महासचिव चम्पत रायलाई जनकपुरधाममा हुने विवाह पञ्चमी समारोहको निमन्त्रणा पत्र दिन गत हप्ता अयोध्या पुग्नुभएको थियो ।



















