कलैया,नेपाली काँग्रेसको बारा जिल्ला समितिका सचिव एवं सामाजिक अगुवा भैयाराम यादव र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य ध्रुब यादवलाई प्रहरीले कुटपिट एवं दुव्र्यवहार गरेको घटनाको विरोधमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाएका छन ।दुई दलका कार्यकर्ताहरुले घटनाको विरोधमा कलैयामा प्रदर्शनसमेत गरेका छन ।कुटपिट तथा दुव्र्यवहार गर्ने प्रहरीमाथि कारबाही नभए आन्दोलन गर्ने नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्ट, सचिव राजेश रौनियार, सहसचिव प्रमोद यादव तथा नेकपा एकीकृत समाजवादी पार्टी बाराका अध्यक्ष बिजेन्द्र चौधरी, सचिव बिक्रम ठाकुर र कलैया नगर संयोजक अरुण खनालले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारीलाई सापकोटालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।सवारी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति र उपचार खर्च दिने बारेमा छलफल गर्न भनेर जिल्ला प्रहरी कार्यालयमा पुगेको बेलामा प्रहरी उपरीक्षक पुरुषोत्तम पाण्डे र रुपेश साहले कुटपिट गरेको काँग्रेस सचिव भैयाराम यादवले बताउनुभएको छ ।घटना विवरण अनुसार तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । घटना लगत्तै पिकअपको डाईभर गाडी छोडेर भागेका थिए भने मोटरसाईकल चालकको उपचार एलएस न्युरो अस्पताल वीरगञ्जमा भईरहेको छ । मोटरसाईकल चालकको उपचारमा लाग्ने खर्च पिकअप धनी पक्षले नदिएको विषयमा छलफल भईरहेको समयमा एक्कासी डिएसपी पाण्डेको निर्देशनमा आफूमाथि कुटपिट र दुव्र्यवहार भएको उहाँले बताउनुभएको छ ।‘कान कम सुनिरहेको छु, ५० थप्पड हानेका छन, टाउकोको पछाडिको भाग र स्पाइनल कर्डमा बुटले हानेका छन । नेता बन्छस, बढी बोल्छस भनेर कुटपिट गरे । ’ उहाँले भन्नुभयो ।घटनाबारे जानकारी दिदै उहाँले भन्नुभयो, मोटरसाईकल चालक आज काम गरेर भोलि खानुपर्ने खालको परिवारका सदस्य हुन् । यसअघि ७० प्रतिशत खर्च पिकअपवालाले दिने र ३० प्रतिशत अभिभावकले बेहोर्ने भनेर सहमति भएको रहेछ । तर दिईरहेको छैन भनेर गुनासो आयो । म राजनीति गर्ने मान्छे पिडित आउँछन् । सहयोग गरिदिनुस भन्छन् । एसपी होबिन्द्र बोगटीलाई दुई पटक भेटेको पनि हो । उहाँले चिन्ता नलिनुस उपचारमा संलग्न गराईपाउँ भने उजुरी दिनुस भनेर भन्नुभयो । तर काम भएन । १२ दिनपछि हिजो फेरि उहाँलाई गएर भेटे । तपाईको आश्वासन किन कार्यान्वयन भएन भनेर भने । उहाँले राम्रैसँग म उसलाई बोलाएर थुन्न लगाउँछु अनि उपचारमा संलग्न गराउँछु भन्नुभयो । आदेश पनि गर्नुभयो । त्यहाँबाट घर पुगेको मात्रै थिँए, प्रहरी निरीक्षक रुपेश साहले पुनः पीडक र पीडित दुवै पक्षलाई बोलाएर छलफल गराएछन । सहमति हुन लागेको छ एक पटक आएर हेरिदिनुस भनेर फेरि पीडितले बोलाए । त्यसपछि म गएर बसेर कुरा सुनिरहेको थिँए । म पहिला पुरा कुरा बुझ्छु अनि मात्रै बोल्छु । त्यतिकैमा प्रहरी निरीक्षक साहले सब कुरा पञ्च, नेताहरुले बिगारेको हो, उनीहरु सबै दलाल हुन । भने । म पनि आरोपित र दलाल भएँ भन्ने लागेर उनलाई एउटा प्रश्न गरे । यो केसमा त्यस्तो कोहि छ भने तोकेर भन्नुस सबैलाई एकै ठाउँमा नमुछ्नुस ? तर उनले त्यसो गरेनन् ।साँझ परिसकेको थियो, पछि डिएसपी पुरुषोत्तम पाण्डे आउनुभयो, एकछिन बसेर सुन्नुभयो । अनि को हो यो ? यसलाई निकाल थुन भनेर मतिर देखाएर भन्नुभयो । यति भनेपछि इन्सपेक्टर रुपेशले ममाथि हमला गरे । दुबै जना मिलेर धकेल्दै इन्सपेक्टरको कोठाबाट बाहिर ल्याए, कन्टोल रुममा ल्याएर बसालेर जुन दुव्र्यवहार मसँग गरे राणाकाल र पञ्चायतीकालमा पनि प्रहरीले त्यति बर्बरता गर्दैनथे । विद्यार्थी आन्दोलन गर्दा वीरगञ्जको पुलिस थानामा म पनि बसेको छु । मानहानी र हातपात गरेका छन् । एउटा क्रिमिनलले पनि यस्तो भोगाई भोगेको छैन होला । धकल्दै कपाल समातेर लडाउने काम डिएसपीले गरेको हो । उनको आदेशमा नै सबै भएको हो । विधिको शासन र कानुन छ भने प्रहरी उपरीक्षक र निरीक्षक निलम्बित हुनुपर्छ ।समाज र जनताको लागि काम गर्ने मान्छे, मानव अधिकार, बाल अधिकारको लागि काम गर्ने मान्छेले प्रहरी कष्टडीमा बसेर यो हिंसा र टर्चर भोग्नुपर्छ भने आम मानिस जसले पढेलेखेकाको छैन । खुट्टामा चप्पल छैन । त्यसलाई नेपाल प्रहरीले के गर्छ होला ? मलाई असैह्य लाग्यो । लोकतन्त्रमा बर्बरतापूर्ण व्यवहार भएको छ ।प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले भने नियतबस भैयाराम यादवलाई कुटपिट नगरेको तर छलफल कक्षमा विवाद भएपछि बाहिर निकालेको बताउनुभएको छ । ‘हामीले नियतबस उहाँलाई दुव्र्यवहार गरेको हैन, छलफल गर्ने क्रममा विवाद हुँदा भिडभाड भएकोले धकेलेर बाहिर निकालेको हो । ’ उहाँले भन्नुभयो ।
Home मुख्य समाचार प्रहरीद्वारा काँग्रेस बारा सचिव भैयाराम यादव नेकपा एसका जिल्ला सहसचिव ध्रुब यादव...



















