रौतहट –  प्रहरीसंग पहुँच भएको बताएर थुनुवा छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुली गरेको आरोपमा रौतहटको गरुडा नगरपालिका– ९ श्रीपुरबाट एक जना पक्राउ परेका छन । प्रहरीले स्थानीय शेख हुस्नैनलाई ठगी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

श्रीपुरमा केही दिनअघि भएको झगडाका क्रममा प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए । त्यसपछि हुस्नैनले रामजनकी श्रीमतीसँग प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने र थुनुवालाई छुटाइदिने आश्वासन दिँदै एक लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

तर रकम बुझाएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा हुस्नैन पक्राउ परेका हुन् । हुस्नैन गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका प्रत्याशी समेत रहेका थिए । हाल उनलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाममा रकम असुली गर्ने कार्य गम्भीर विषय भएकाले जाहेरीका आधारमा पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ । सोही घटनामा गरुडा– ९ का वर्तमान वडा अध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको छ । प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार सहनीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइरहेको छ ।  सहनीले भने आफूले रामजनलाई छुटाउन कसैसँग पनि रकम नलिएको भन्दै आरोप अस्वीकार गर्नुभएको छ ।

Leave a Reply