जनकपुरधाम । दीपावली र छठ पर्व नजिकिएसँगै धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल समुदायलाई माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । वर्षभरि सुस्त रहने माटाका भाँडाकुँडाको कारोबार चाडपर्वको समयमा बढ्ने भएपछि उनीहरू उत्पादनमा जुटेका छन् ।

बिहानदेखि साँझ अबेरसम्म स्थानीय कुमालहरू दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्कालगायत सामग्री बनाउन व्यस्त देखिन्छन् । कोही माटो मुछ्न त कोही चक्र घुमाएर विभिन्न आकारका सामग्री तयार गर्नमा जुटेका छन् ।

स्थानीय पृतम पण्डितका अनुसार माटाका सामग्रीको बिक्री वर्षभरि न्यून हुने भए पनि दीपावली र छठका बेला माग बढ्ने गर्छ । त्यसैले अहिले उनीहरू बढीभन्दा बढी सामग्री उत्पादन गर्न लागिपरेका छन् ।

स्थानीय अयोधि पण्डितले दसैँदेखि छठसम्म माटाका सामग्री बिक्री गरेर खर्च कटाउँदा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने बताए । चाडपर्वको समयमा राम्रो बिक्री हुने भएकाले अन्य काम छाडेर उनी यसै पेसामा केन्द्रित भएका छन् ।

कुमाल समुदायका लागि माटाका भाँडा बनाउनु आम्दानीको माध्यम मात्र नभई पुस्तौँदेखि चल्दै आएको परम्परा, सीप र सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ । स्थानीय सुन्दर पण्डितले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिन मेहनत गरिरहेको बताए ।

तर, प्लास्टिक, स्टिल र आल्मुनियमका सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका भाँडाको माग घट्दै गएको समुदायका अगुवा रामनारायण पण्डित बताउँछन् ।

उनका अनुसार पहिले पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजाका लागि कलश र दीपावलीमा दियो घरघरमा अनिवार्यजस्तै थिए । अहिले आधुनिक सामग्रीको प्रयोग बढेसँगै माटाका भाँडाको बजार खुम्चिँदै गएको छ ।

चाडपर्वमा केही आम्दानी भए पनि वर्षभरि यही पेसाबाट परिवारको खर्च धान्न कठिन रहेको कुमाल समुदायको भनाइ छ ।

परम्परागत माटाका सामग्री बनाउने सीप र पेसा संरक्षण गर्न स्थानीय सरकारको सहयोग, बजार व्यवस्थापन तथा उपभोक्ताको प्रोत्साहन आवश्यक रहेको उनीहरूले बताएका छन् ।

Leave a Reply