निजगढ,बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज मुलुककै कान्छो निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्जमावार्षिक १० लाखभन्दा बढी धार्मिक पर्यटक आउने गरेको निकुञ्ज कार्यालय आदाभार अमलेखगंजले जनाएको छ ।
निकुञ्जको कोर क्षेत्रको रामभौरीभाठामा रहेको दुग्धेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने तीर्थालु पर्यटकको वर्षेनि ओइरो लाग्नेगरेको हो ।साउन महिनामा एक महिनासम्म लाग्ने साउने मेला, अनि शिवरात्रिलगायतका अवसरमा लाग्ने मेलाहरूमा भगवान् महादेवको पूजा आराधना गर्ने तीर्थालुहरूको भीडलाई व्यवस्थापन गर्न निकै गाह्रो पर्ने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय, आधाभारका प्रमुख संरक्षण अधिकृत एवं वार्डेन रामचन्द्र खतिवडाले बताउनुभयो ।

यस क्षेत्रमा धार्मिक पर्यटनको विकास, प्रवद्र्धनका लागि वैष्णोदेवी मन्दिरलगायतका देवीदेवताहरूको मूर्ति मन्दिर स्थापना गरिएका छन् भने, कतिपय स्थापना गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।मधेस प्रदेशको एकमात्र यो निकुञ्जमा अपेक्षा गरिए अनुसारको आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकुञ्ज कार्यालय अग्रसर रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा जङ्गल सफारीका र खाना, बासका लागि होमस्टेको सुविधा र मनोरञ्जनका लागि तामाङ सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिने हुँदा पर्यटकहरू भित्रिने गरेको उहाँ बताउनुहुन्छ । शान्त वातावरण, स्वच्छ हावापानी, अर्गेनिक खानाको व्यवस्था रहेकाले अहिले पनि वीरगञ्ज, बाराको जीतपुर, सिमरालगायतका आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति हुनेगरेको उहाँको भनाई छ ।

पर्सा राष्ट्रिय निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख बासस्थान मानिन्छ । यस निकुञ्ज क्षेत्रमा संरक्षित सूचीमा रहेको पाटेबाघको सङ्ख्या निकुञ्ज विस्तार हुनुअघिको १८ बाट बढेर अहिले ४१ पुगेको सन् २०१८ को बाघ गणनाको तथ्याङ्कले देखाएको छ । ६५ वटा वयस्क बाघ सुरक्षित तवरले बस्नसक्ने क्षेत्रफल भएको यस निकुञ्जमा एकसिङ्गे गैंडाको अहिले निकै चहलपहल बढेको वार्डेन खतिवडाले बताउनुभयो । पाटेबाघ, चितुवा आकस्मिक रूपमा हेर्न पाइए पनि एकसिङ्गे गैंडा भने सहजै हेर्न सकिने वार्डेन खतिवडाको भनाई छ । निकुञ्जका लागि प्रतापपुर पोस्ट क्षेत्रको घाँसे मैदान एकसिङ्गे गैंडाको लागि सुरक्षित बासस्थानको रुपमा रहेको यहाँबाट गैंडाको सहज अवलोकन गर्नसकिने वार्डेन खतिवडाको भनाई छ ।निकुञ्जको कोर एरियाभित्र पर्ने निजगढको हलखोरिया पोखरी, ऐतिहासिक कामिनी दहलगायतका कैयौं प्राकृतिक दहहरु रैथाने हात्ती र बाघको प्रमुख बासस्थानको रूपमा छन ।

Leave a Reply