वीरगञ्ज,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आइतवार पर्साको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पँचगावामा हुने वृहत पार्टी प्रवेश कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको एमाले पर्साले जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले पार्टी प्रवेश कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।
बिहान ११ बजे हुने पार्टी प्रवेश कार्यक्रमको मञ्च व्यवस्थापन, शान्ति सुरक्षा लगायतको तयारी पनि सम्पन्न भएको एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताउनुभयो । यादवले आइतवार हुने कार्यक्रमलाई ऐतिहासिक बनाउन पर्सा जिल्ला कमिटी र मधेस प्रदेश कमिटी जोडतोडले लागि परेको बताउनुभयो ।
नेकपा एमाले मधेस प्रदेशका ईन्र्चाज लिला श्रेष्ठले प्रधानमन्त्रीको उपस्थितिमा हुने कार्यक्रमलाई भव्य रुपमा सफल पार्न बारा र पर्सा जिल्लाका सम्पुर्ण पालिकाबाट कार्यकर्ता उपस्थित हुने दावी गर्नुभयो । पत्रकार सम्मेलनमा ईन्र्चाज श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले गरेको राष्ट्रिय गौरवका योजनाहरुको बारेमा समेत चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, सांसद तथा पर्सा इञ्चार्ज प्रुभ हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिति थियो । प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।