बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४० बजे उद्योगभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि अचानक आगलागी भएको थियो । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ ।

आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो ।

घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको छ । उनीहरूलाई थप उपचारका लागि बिहान ८ः४५ बजे भारतको लखनउ पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रेम धोबी, दिलीपकुमार यादव, लक्ष्मीराम यादव तथा भारतका राजकुमार निषाद, नशिव कुमार निषाद र विनोदकुमार निषादको अवस्था सामान्य रहेको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट उद्योगमा भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply