जनकपुरधाम,मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले बाराको सिम्रौनगढ नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो नदेखाएको बताउनुभएको छ । उहाँले आफूहरुले छानबिनको लागि निवेदन दिएपछि अख्तियारका पदाधिकारी र कर्मचारीले नगरपालिकाका कर्मचारीहरुसंग सेटिङ्ग गरेर पैसा कमाउने माध्यम बनाएको आरोप लगाउनुभएको छ ।
बर्दिवासमा आयोजना गरिएको संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यादवले अख्तियार विरुद्ध यस्तो आरोप लगाउनुभएको हो ।
आफ्नै गृहनगर सिम्रौनगढको एउटा भ्रष्टाचारसम्बन्धि घटनाको उदहरण दिदै सभामुख यादवले दुई वर्षअघि सिम्रौनगढको विकासको लागि प्रदेश सरकारमार्फत आफूले २ करोड पठाएको र उक्त रकम कुनै कामै नगरी हिनामिना गरेको पाइएको बताउनुभयो । ‘कुनै काम नै नगरी कर्मचारीहरुले उपभोक्ता समितिको नाममा पैसा झिकेर हिनामिना गरेका छन, उहाँले भन्नुभयो, ‘हिनामिनाको गुनासो आएपछि संसदीय समिति बनाएर अनुगमन पनि ग¥यौं तर त्यस क्रममा एक रुपैयाँको पनि काम भएको पाइएन् ।’
छानबिनको लागि काठमाडौंमा पुगेर अख्तियारका प्रमुख आयुक्तलाई फोन गरेर समय माग्दा नदिएको र पछि त्यही घटनामा मुद्दा दर्ता गर्दा पनि कुनै कारबाही नभएको सभामुख यादवले सुनाउनुभयो । उहाँले अहिले अख्तियारका कर्मचारीले नगरपालिकाका कर्मचारीलाई काठमाण्डौंमै बोलाएर सेटिंग गरेको भन्ने सुनिएको पनि बताउनुभयो ।
सभामुख यादवले सिम्रौनगढ नगरपालिका कार्यालयमा भएको भ्रष्टाचारसम्बन्धि अन्य मुद्दामा पनि अख्तियारले कारबाहीमा चासो नदेखाएको आरोप लगाउदै आउनुभएको छ । उहाँले प्रदेश सरकारलाई अधिकारबिहीन बनाएपछि नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा चिनिन थालेको पनि बताउनुभयो ।



















