कलैया,एक करोड भन्दा बढी खर्च गरेर पूर्वपश्चिम राजमार्गको निजगढ लगायत ५ स्थानमा जडान गरिएको सीसीटीभी विथ राडर गन बिग्रिएर बन्द भएका छन् ।
नेपालमै पहिलो पटक मधेश प्रदेश सरकारले सिसिटिभि जडान गरेको ६ महिना नपुग्दै तीन वटा बिग्रीएर बन्द भएका हुन ्। तीव्र गति मापन गरेर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा जडान गरिएका सिसिटिभि बिग्रिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
बाराको निजगढको तामागढी, पथलैयाको आदाभार र महोत्तरीको बर्दिवासमा रहेको आधुनिक प्रबिधिको सीसीटीभी विथ राडर गन मर्मत अभावमा बन्द भएका हुन । सिरहाको लहान, सप्तरीको भारदहमा जडान भएको क्यामरा भने सुचारु अवस्थामा छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक नातीराम गुरुङ्गले पथलैयाको सीसीटीभी मर्मतका लागि प्रकृया अगाडि बढेको बताउनुभयो । बाँकीको पनि केही दिनमा मर्मत गरिने उहाँको भनाइ छ ।
गत फागुनबाट शुरू भएको सीसीटीभी विथ राडर गन गत वर्ष साउनमै खरिद भए पनि जडान तथा सञ्चालनमा भने फागुनबाट आएको थियो । एक वर्षको वारेन्टी समय रहेको सीसीटीभी छ महिना नपुग्दै बिग्रिएपछि हाल सम्म मर्मतका लागि पहल गरिएको छैन । प्रयोगको हिसाबले छ महिना मै बिग्रिए पनि किनेको समयले म्याद सकिएका कारण कम्पनीले मर्मत नगर्ने भएकोले सम्बन्धित कार्यालयले समेत चासो नलिएको पाइएको छ ।
प्रयोगका समयमा मधेश प्रदेश अन्तर्गत रहेको राजमार्गमा तीव्र गति चल्ने सवारी साधानको गति नियन्त्रण गर्न र सडक दुर्घटना कम गर्न मात्र नभइ अपराध नियन्त्रण, हिटेन रनमा समेत सीसीटीभी धेरै सहयोगी बनेको प्रहरी उपरीक्षक गुरुङ्गको दाबी छ । बिग्रनु अघिसम्म सीसीटीभी विथ राडर गनको प्रयोगबाट पाँच हजार भन्दा बढी सवारीलाई कारबाहीको दायरामा ल्याइएको र ४० लाख भन्दा बढी राजस्व संकलन भएको उहाँले बताउनुभयो । क्यामराको सहयोगमा गाडीको रंग, गति, चालक, यात्रु छुट्टाउन सकिने गुरुङको भनाइ छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि विगतमा पनि हैण्डहेड राडर गन, टाईम कार्डको प्रयोग गर्दै सचेतना फैलाउने काम गर्दै आएको थियो ।